Main News

विपद जोखिम न्यूनिकरणमा सेना, प्रहरी र सशस्त्रको यस्तो छ काम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १ गते २०:३०
विपद जोखिम न्यूनिकरणमा सेना, प्रहरी र सशस्त्रको यस्तो छ काम (भिडियो रिपोर्टसहित)

१ असार २०७८ काठमाडौं । मनसुन शुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको छ । यो वर्ष बढी वर्षा हुने अनुमान गरिएकाले पनि प्रभावित हुने नागरिकको संख्या बढ्ने अनुमान गरिएको छ ।

प्रभावित जनतालाई उद्धार, राहत तथा व्यवस्थापनमा अग्रपंक्तिमा खटिने तीनवटा सुरक्षा विभागले पूर्व तयारी गरिसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरेर सम्भावित जोखिम न्यूनीकरणका लागि काम गरिरहेका छन् ।

विपद्का बेला उद्धार कार्यमा सुरक्षाकर्मी नै अग्रपंक्तिमा खटिन्छन् । सुरक्षा निकायले अघिल्ला वर्षभन्दा बढी जनशक्ति र उपकरणसहित मौसम विभाग र गृह मन्त्रालयसँग समन्यव गरेर उद्धार कार्यका लागि तम्तयार भएर बसेका छन् ।

नेपाली सेनाले बढी जोखिमपूर्ण स्थानको नक्सांकन गरेर आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ । सेनाले ७७ वटै जिल्लामा भएका गण तथा गुल्मबाट १ तिहाई जनशक्ति तयारी अवस्थामा राखेको छ ।

सशस्त्र प्रहरी बलले पनि पूर्व तयारी सकेको जनाएको छ । उसले बढी जोखिम हुने ठाउँमा खटाउन जनशक्ति तयारी अवस्थामा राखेको छ । सशस्त्र प्रहरीसँग विपद् व्यवस्थापनको तालिम प्राप्त १९ सय १८ जनशक्ति छ । त्यसलाई १० समुहमा विभाजन गरेर पठाइँदैछ ।

सशस्त्रले ७० वटा बोट र दुई सय जना तालिम प्राप्त गोताखोरलाई पनि तयारी अवस्थामा राखेको जनाएको छ । यस्तै बाढी पहिरोका कारण अवरुद्ध हुने राजमार्ग खुलाउन पनि शसस्त्रको छुट्टै तयारी छ ।

जनतासँग प्रत्यक्ष रुपमा जोडिने सुरक्षा निकाय नेपाल प्रहरीको पनि सबै संयन्त्र सक्रिय भइसकेको छ । केन्द्रका विभिन्न निकाय र स्थानीय तहका विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडी बढाइसकेको नेपाल प्रहरीका प्रवक्त बसन्त कुँवरले बताउनु भयो ।

कोरोना महामारीको जोखिम पनि कायमै रहेकाले यो पटक सुरक्षा निकायको काँधमा दोहोरो जिम्मेवारी छ । तीनवटै सुरक्षा निकायले यसमा आम नागरिक र अन्य निकायको सहयोग पाउने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *