Main News

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७८ असार १ गते ९:०३
विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु हुँदै

१ असार २०७८ काठमाडौं । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर शुरु हुँदैछ ।

विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र शुरु हुने भएको हो ।

कोरोना (कोभिड–१९) संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणमा भने सजिलो हुने भएको छ ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आजदेखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य शुुरु गर्नुपर्ने बताउनुभयो । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेकीकरण कार्य विद्यालयले गर्ने उहाँको भनाइ छ ।

असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ ।

विद्यालयले आफ्नो नजिकको बिक्रेताबाट खरिद गरेर विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने महानिर्देशक अर्यालले जानकारी दिनुभयो । यसअघि सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गरिने भएकाले सोहीअनुसार तयारी गर्न सबै विद्यालयलाई निर्देश गरेको थियो । कक्षा ११ को पठनपाठन भने भदौबाट सुरु हुँदै छ ।

विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य पूरा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *