कांग्रेस सभापति देउवाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान
२८ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनु भएको छ ।
देउवाले भोलि दिउँसो २ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाउनु भएको हो । बैठकमा पार्टीको महाधिवेशन र समसामायिक राजनीतिका विषयमा छलफल हुने सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।
कांग्रेसले आगामी भदौमा गर्नेगरी पार्टीको महाधिवेशन तय गरेको भएपनि कार्यतालिका भने प्रभावित भएको छ । कोरोना महामारीका कारण पार्टी महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सभापतिले यस विषयमा छलफल गर्न बैठक बोलाउनु भएको सहयोगी देउवाले बताउनु भयो ।
पार्टीको महाधिवेशन समयमै गर्न सभापति देउवालाई नेताहरुले दबाव दिइरहेका छन् । संविधानतः आगामी भदौमा महाधिवेशन नभए कांग्रेसको वैधानिकतामा पनि प्रश्न उठ्ने देखिन्छ ।
यसअघि कांग्रेसका आधा दर्जन बढी केन्द्रीय सदस्यहरुले वैकल्पिक माध्यामबाट भएपनि भदौमा महाधिवेशन गर्नका लागि पहल कदमी लिन सुझाव दिएका थिए । त्यसपछि उहाँले पार्टीको पदाधिकारी बैठक राखेर निर्णय लिने आश्वासन दिनुभएको थियो ।
देउवाले यसअघि आफु पार्टीको महाधिवेशन गर्न प्रतिबद्ध रहेको समेत दावी गर्नुभएको थियो ।
प्रतिक्रिया