सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय छलफल शुरु
२८ जेठ २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय छलफल शुरु भएको छ ।
संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे परामर्श गर्न सभामुख सापकोटाले सर्वदलीय छलफल बोलाउनुभएको हो । संसद भवन नयाँ बानेश्वरमा भैरहेको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल सहभागी हुनुहन्छ ।
यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव, राप्रपाका नेता दीपक बोहरा, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल पनि सहभागी हुनुुहुन्छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल भने अनलाइन माध्यमबाट सहभागी हुनुभएको छ । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाए पनि सहभागी हुनुभएन ।
एमाले संस्थापन र जसपाको महन्थ ठाकुर पक्ष छलफलमा सहभागी छैन । जेठ ८ मा प्रतिनिधि सभा विघटन भएपछिको अवस्थाका विषयमा छलफल केन्द्रीत छ । सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनको विरोध गर्दै आउनुभएको छ ।
सभामुख सापकोटाले यसअघि पूर्वसभामुख, कानुन व्यवसायी एवं राजनीतिक दलका नेतासँग परामर्श गर्नुभएको थियो ।
सभामुख सापकोटाले संसद जोगाउन आफूले खेल्नु पर्ने भूमिका लागि आफू तयार रहेको बताउँदै आउनुभएको छ ।
प्रतिक्रिया