राजनीति

पार्टी एकताका लागि ओलीको ६ बुँदे प्रस्तावमा नेपाल पक्षको यस्तो प्रतिक्रिया

हिमालय टिभी
२०७८ जेठ २४ गते ७:५५
पार्टी एकताका लागि ओलीको ६ बुँदे प्रस्तावमा नेपाल पक्षको यस्तो प्रतिक्रिया

२४ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।

पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै अध्यक्ष ओलीले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गर्नुभएको छ ।

गत शुक्रबार मात्र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप लगाएको थियो । आफूहरुले अघि सारेको प्रस्तावहरु निश्चित समय सीमामा विश्वसनीय कार्यान्वयन हुने सहमति भए मात्र ओली एकताको पक्षमा रहेका ठहरिने, अन्यथा एकताको नाममा नअलमलिने र वैकल्पिक बाटो अवलम्बन गर्ने नेपाल समूहले चेतावनी दिएको थियो ।

नेपाल समूहको निर्णय सार्वजनिक भए लगतै एमाले अध्यक्ष ओलीले एकताका लागि आहृवान गर्नुभएको हो । एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भएपनि पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको ओलीको प्रस्तावमा उल्लेख छ ।

पार्टी अध्यक्षको हैसियतमा आफूले एकताका निम्ति पहल पनि गरेको भन्दै ओलीले भनेका अनवरत प्रयासका बाबदुज जे नहुनुपर्ने, त्यही भइरहेको उल्लेख गर्नुभएको छ । पार्टीमा देखिएका समस्या समाधान हुन नसक्ने कारण नभएको भन्दै अध्यक्ष ओलीले एक ठाउँमा उभिनुपर्ने र सबैले एकताको लक्ष्य राखेर सकारात्मक योगदान गर्नुपर्ने जोड दिनुभएकव छ ।

नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउने र तत्कालिन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील बनाउने प्रस्ताव छ ।

यस्तै मातहतका पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील बनाउन पनि ओली तयार हुनुभएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताका लागि यो अवसर भएको बताउनुभयो ।

यसैबीच नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।

ओलीको प्रस्तावले कार्यदल स्तरको छलफललाई निरन्तरता दिने बाटो खोलेको भट्टराईको तर्क छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले हिजो साँझ पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नुभएको हो ।

यसबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै भट्टराईले अध्यक्ष ओलीको आह्वान सकारात्मक भएको बताउनुभएको छ । भट्टराईले पार्टीका जिम्मेवार नेताहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयहरुलाई समाधान गर्ने उल्लेख गर्नुभएको छ ।

सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने भट्टराईको तर्क छ ।

अध्यक्षको वक्तव्यले पार्टीका शीर्ष नेतृत्वबीच सम्वाद हुने र एकताको एकता कायम राख्न मद्दत पुग्ने अपेक्षा गरेको माधव नेपाल समूहमा रहेका नेता भट्टराईले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्