सरकार र थारुहट थारुवान संघर्ष समितिबीच चौधरीको रिहाइसहित ६ बुँदे सहमति

१८ जेठ २०७८ काठमाडौं । टीकापुर काण्डमा दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीसहितको रिहाई लगायतका विषयमा सरकार र आन्दोलनरत पक्षबीच आज सहमति भएको छ ।
सरकार र आन्दोलनरत थरुहट थारुवान संघर्ष समितिबीच आज ६ बुँदे सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।
सहमतिमा टीकापुर घटनाका आरोपित रेशम चौधरी, धनिराम चौधरी, लक्ष्मण चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता र रिहाइका लागि संविधानसम्मत प्रयास गर्ने उल्लेख छ ।
यस्तै थरुहट थारुवान आन्दोलनका क्रममा सहिद भएकालाई राहत उपलव्ध गराउने, परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने तथा जनधनको क्षतिको मूल्यांकन गरी क्षतिपुर्ति दिने सहमति पनि भएको छ ।
दुई पक्षबीच राज्यका हरेक तह र तप्कामा थारुहरुको आरक्षण तथा संविधान अनुसारको व्यवस्था गर्ने, थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्म मातृभाषामा पठनपाठन गर्ने तथा संविधान संशोधन गर्दा थारु समूदायका माग समेट्ने सहमति भएको छ ।
यसअघि विभिन्न माग राख्दै थरुहट थारुवान संघर्ष समितिले आन्दोलन गरिरहेको थियो । जनता समाजवादी पार्टीको एक समूहसँग सहकार्य गर्ने तय भएसँगै सरकारले समितिसँग पनि सहमति गरेको हो ।
प्रतिक्रिया