Main News

लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यका लागि मतदान सकियो, २९७ जनाद्वारा मतदान

हिमालय टिभी
२०७८ जेठ १७ गते १५:११
लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यका लागि मतदान सकियो, २९७ जनाद्वारा मतदान

१७ जेठ २०७८ काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । कूल तीन सय मध्ये दुई सय ९७ जनाले मतदान गरेका छन् ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म तोकिएको समयमा स्थानीय तहका तीन जनप्रतिनिधिले मतदान गरेनन् । नेपालगञ्ज उपमहानगरपालिका मेयर धवल शम्शेर राणाले आफ्नै प्राथमिकता कोरोना नियन्त्र‌‌ण हो चुनाव होइन भन्दै बहिष्कार गर्नु भएको हो ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोक थापा काठमाडौंमा र बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद भारतमा उपचार गराइरहेकाले मतदानमा सहभागी नभएको निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिनुभयो ।

८३ जना प्रदेश सांसदले मतदान गरेका छन । स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मध्ये २१४ जनाले मतदान गरेका छन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दुगनारायण पाण्डे र सत्तारुढ एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार हुनुहुन्छ ।

मतभारका हिसावले विपक्षी गठबन्धन बलियो देखिएको छ । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ हुन्छ । एमालेका ३८ सांसद र ८७ स्थानीय तहका प्रतिनिधिको गरी कुल तीन हजार ३ सय ९० मतभार छ ।

विपक्षी गठबन्धनका कांग्रेसको १९ सांसद र ६६ स्थानीय तहका प्रतिनिधि गरी कुल दुई हजार एक सय मतभार छ । माओवादीका १९ सांसद र ४२ स्थानीय तहका प्रतिनिधि गरी कुल एक हजार ६ सय ६८ मतभार छ । कांग्रेस र माओवादीको मात्रै तीन हजार ७ सय ६८ मतभार छ ।

विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच स्थानीय तहका प्रतिनिधि गरी कुल एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ स्थानीय तहका प्रतिनिधि गरी कुल चार सय ४४ मतभार छ । जसपा दुई सांसद गठबन्धनको पक्षमा उभिएका छन् ।

यस्तै, राप्रपाका दुई र स्वतन्त्रबाट निर्वाचित एकजनाको गरी एक सय ४४ मतभार छ । राष्ट्रिय राजनीतिमा आफ्नै पार्टीसँग असन्तुष्ट एमालेको नेपाल( खनाल समूहको पनि लुम्बिनीमा उल्लेख्य मतदाता छन् ।

प्रदेश सभामा नै दुई जना सांसद स्पष्ट खुलेका छन् भने गुल्मीलगायत जिल्लामा पनि नेपाल(खनाल समूहका मतदाता छन् । अहिले साढे ३ बजेबाट मतगणना शुरु गर्ने तयारी छ । दुई घण्टा भित्र मतगणना सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *