राजनीति

ओलीविरुद्ध एकजुट भएर लाग्न एमालेको नेपाल–खनाल समूहको अपिल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १२ गते १८:५३
ओलीविरुद्ध एकजुट भएर लाग्न एमालेको नेपाल–खनाल समूहको अपिल (भिडियो रिपोर्टसहित)

१२ जेठ २०७८ काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल गरेका छन् ।

अपिल सार्वजनिक गर्दै उनीहरुले प्रधानमन्त्री ओलीका निरंकुश र प्रतिगामी कामकारबाहीविरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन्।

झलनाथ खनाल, माधव कुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृत कुमार बोहरा र प्रमेश हमाल ओलीविरुद्ध उत्रिनुभएको छ ।

राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल र जनता प्रधानमन्त्री ओलीका निरंकुश र प्रतिगामी काम विरुद्ध एक हुनुपर्ने उनीहरुको मत छ ।

ओलीका विरुद्ध आवश्यक पाइला चाल्न आफूहरु अग्रसर भएको बताउँदै उनीहरुले आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ ओली गुटका धाकधम्की, प्रलोभन र भ्रमविरुद्ध लाग्न सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकलाई आह्वान गरेका छन ।

प्रधानमन्त्री ओलीकै कारण अन्य राजनीतिक दलहसँग सहकार्य गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न बाध्य भएको पनि उनीहको प्रष्टिकरण छ । वरिष्ठ नेता नेपाल, खनाल र रावल सहितका ११ नेतालाई कारवाही गरेको पनि उनीहरुले आपत्ति जनाएका छन ।

आफ्नै दल र राष्ट्रलाई एकताबद्ध तुल्याउनुको साटो फुट र अराजकताको बाटो समात्ने, देशमा अस्तव्यस्त स्थिति सिर्जना गर्ने र राष्ट्रिय हित तथा स्वाभिमान विपरीतका क्रियाकलाप गर्ने र यस्ता कामकुराको विरोध गर्दा कारबाही गर्ने कार्य निन्दनीय र हाँस्यास्पद रहेको उनीहरुको तर्क छ ।

ओलीको कारण कम्युनिष्ट आन्दोलन र लोकतन्त्र नै क्षतविक्षत भइरहेको र आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा उत्पन्न भएको नेपाल खनाल समूहको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्