राजनीति

राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी लाग्दैनः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ९ गते १६:३८
राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी लाग्दैनः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

९ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ ।

आज सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उहाँले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताउनुभएको हो । राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफुले सुनेको भन्दै उहाँले जतिजनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताउनुभयो ।

उहाँले भन्नुभयो “ मोर्चा कसेर मुद्दा हाल्ने रे ? सच्चाइका लागि एक जनाले हाले पनि धेरैले मोर्चा कसेर हाले पनि त्यही हो । सच्चाई सच्चाई नै हो । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँ हो त्यसमा कुनै उजुरी लाग्दैन ।”

नेपाली कांग्रेसका सभापति देउवाले आफु प्रधानमन्त्री बन्न अरु दलका सांसदहरुको किर्ते हस्ताक्षर गरेर लगेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “किर्ते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्नका लागि अरु पार्टी बागी विद्रोही सिर्जना गर्नु । नेकपा एमालेका केही मानिसहरुलाई उकासेर । धेरैले आफुले हस्ताक्षर नगरेको भनेर विज्ञप्ती निकालेका छन् । लोकतन्त्र भनेको अनुसासित प्रणाली हो । अराजकता होइन । अनुशासनहिनता होइन । जसपाबाट ३२ जना सांसद भएको ठाउँमा १२ जनालाई हस्ताक्षर गराएर, पार्टी अनुशासन तोडाएर, विभिन्न खालका अनुचित हत्कण्डाहरु प्रयोग गरेर । यो परिपाटी बसाउँदै जाने हो भने हामी कहाँ पुग्छौ ?”

उहाँले संसदीय गणितमा फोहरी खेल भएको र सांसदह किन्ने र विक्री हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफु भने संसद विघटन नहोस् भनेर जसपाको र आफ्नो (नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताउनुभधयो ।

उहाँले भन्नुभयो “संसदको मौजुदा गणित फोहरी खेलको माध्यम भयो । देशको आवश्यकता र संसदको मौजुदा गणित भिन्न भयो । दलीय अनुशासनको कुनै अर्थ छैन । विकेर विपक्षी दलको प्रधानमन्त्री बनाउने भनेर कुदेको छ । पवित्र गौ दान गर्न कुदेको होे ? संसदमा गणित अशक्त र भद्रगोल भइसकेको हालैका स्थितिले देखाएको छ । आफ्नो र महन्थ ठाकुर र राजेन्द्र महत्वको हस्ताक्षरसहितको समर्थनमा १ सय ५३ सिटको दाबी लिएर म राष्ट्रपति ज्युकोमा गएँ । संसद विघटन नहोस् वैकल्पिक सरकार दिन सकियोस् भनेर । ”

वैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उहाँले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताउनुभयो ।

पर्सनल डान्स गर्ने छुट छैन
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जी हस्ताक्षर लिएर, दुषित अभ्यास गरी, दुषित कागज राष्ट्रपति कार्यालयमा बुझाएको टिप्पणी गर्नुभयो । आफुले मैले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रति पनि विश्वास नगर्नुभएको उहाँले बताउनुभयो । उनीहरुले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उहाँको तर्क थियो ।

उहाँले लोकतान्त्रिक व्यवस्थामा दलीय अनुशासन हुनुपर्ने भन्दै दलीय अनुशासनभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । लोकतन्त्र अनुशासित, मर्यादित र सामूहिक व्यवस्था भएको भन्दै उहँले बुद्धि र प्रतिष्ठाको मिसयुज गरेर बुद्धिजीवीहरुले पूर्वाग्रहका साथ संविधानको अपव्याख्या गरेर संविधानमाथिको निष्ठामा आँच पुराउने काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “दलीय अनुशासन तोडेर व्यक्तिगत नाँच नाँच्ने व्यवस्था होइन दलीय व्यवस्था । पर्सनल डान्सको कुनै अर्थ छैन । ”

कार्टुनप्रति आपत्ती
प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगर्न आग्रह गर्नुभएको छ । लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता दिएको र अहिले केही मिडियाले त्यही स्वतन्त्रताको दुरुपयोग गर्ने काम गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो । उहाँले एक दैनिक पत्रिकामा छापिएको कार्टुनप्रति असन्तुष्टि जनाउँदै प्रेत भइसकेको राजसंस्थाको खल्तीमा गणतन्त्रको प्रतिकको रुपमा रहेको संस्थालाई राख्ने काम गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रेत संस्थाको भीमकाय फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई खल्तीमा राखेको । कति आनन्द आएको होला लोकतन्त्रको नाममा यस्ता घृणित कार्यहरु । राजतन्त्र भनेको प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विशाल भीमकाय फोटो बाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्वको गणतन्त्रको प्रतिकको रुपमा रहेको संस्थालाई एउटा प्रेत संस्थाका, सामन्ति संस्थाको एउटा खल्तीमा राख्नेसम्मको ? लोकतन्त्रले दिएका स्वतन्त्रताको हकको दुरुपयोग हो । ”

उहाँले केही मिडियाले सरकारविरुद्ध मिसन पत्रकारिता नै सञ्चालन गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “केही त मिसन पत्रकारिता भएका छन् । जसको काम उपलब्धिको चर्चा नगर्ने र कमजोरीको मात्रै चर्चा गर्ने छैन भने बनावटी अन्तरकुन्तरबाट मार्मिक कहानीहरु बनाउने, निकाल्ने । मार्मिक स्थितिको चित्रण गर्ने । त्यस्तो मार्मिक स्थिति अब आउन नपाओस् भनेर प्रयास गर्ने वा त्यस्ता प्रयासलाई साथ सहयोग गर्ने भन्दा पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति बोकेका छँदैछन् । ”

उहाँले लोकतन्त्रकाविरुद्ध अतिवादी शक्तिबाट निर्देशित हुने, अतिवादी शक्तिको लाचार छायाँ बनेर तीनको पछिपछि लाग्ने काम नगर्न सचेत गराउनुभयो । लोकतन्त्र आएपछि वैैचारिक ढंगले भेदभाव गरिएका घटनाको फेयरिस्त दिदै उहाँले वर्तमान सरकार तानाशाही छ भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिलेको सरकार तानाशाही छ ? लोकतन्त्रमा ५० औपल्ट हामी गिरफ्तार भएका छौं । नेताहरुले चुटाई खाएका छन् । के अहिलेको सरकार त्यस्तो छ र ? ”

उहाँले राज्यकोशको दुरुपयोग गर्ने, मुख मिठ्याउने र जिब्रो चाट्ने काम नगर्न पनि सबैलाई सचेत गराउनुभयो ।

राष्ट्रिय राजनीतिमा प्रद्षित खेल खेलियो
प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई प्रदुषित गर्ने खेल भइरहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक प्रणालीका मूल्य मान्यता र प्रक्रियाबाट राजनीतिलाई पदभ्रष्ट बनाउने र अलोकतान्त्रिक प्रक्रियाबाट राजनीतिको छिनोफानो हुनुपर्छ भन्ने अराजकतावादी सोचहरु हावी हुँदै गएको र सरकार त्यसकिसिमका अलोकतान्त्रिक गतिविधिसँग लडिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “ राष्ट्रिय राजनीतिलाई बहुतै प्रदुषित गर्न खोजिँदैछ । लोकतान्त्रिक बाटोबाट, लोकतान्त्रिक प्रणालीका मूल्य मान्यता र प्रक्रियाबाट राजनीतिलाई पदभ्रष्ट बनाउने र अलोकतान्त्रिक प्रणाली र अलोकतान्त्रिक प्रक्रियाबाट राजनीतिको छिनोफानो र त्यसको सञ्चालन हुनुपर्छ भन्ने अराजकतावादी सोचहरु जसरी अघि बढेका छन् । त्यसको विरुद्धमा लोकतन्त्रको रक्षाका लागि हामी लडिरहका छौ । ”

उहाँले सरकार संविधानको सिर्जनात्मक प्रयोग गर्दै लोकतन्त्रको सही ढंगले उपयोग गर्ने, जनताका समस्या सम्बोधन गर्ने, सामाजिक सुव्यवस्था र सुशासन कायम गरी विकासको बाटोमा मुलुकलाई अघि बढाउने वर्तमान आवश्यकतामा केन्द्रित भएको बताउनुभयो ।

कसले गरेको निर्वाचनमा सहभागी हुने ?
प्रधानमन्त्री ओलीले आफुलाई प्रजातन्त्रवादी भन्नेहरु पनि प्रचण्डपथ अंगीकार गरेर लोकतन्त्र विरोधी खेलमा लागेको टिप्पणी गर्नुभयो ।

लोकतान्त्रिक सिध्याउन र हिंसाको बाटोबाट सत्ता कब्जा गर्न हिँडेकाहरु त्यो संभव नभएपछि शान्ति प्रक्रियामा आएको र अहिले तीनैको सत्ता कब्जा गर्ने रणनीतिलाई आफु प्रजातन्त्र र लोकतन्त्र बादी भन्नेहरुले पनि साथ दिएको टिप्पणी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “हिंसाको बाटोबाट सत्ता कब्जा, लोकतन्त्रका विरुद्ध, लोकतान्त्रिक प्रणालीका विरुद्ध, संवैधानिक र शान्तिपूर्ण बाटोका विरुद्ध चलाइएको हिंसात्मक गतिविधि र त्यसबाट कब्जा गर्न नसकेपछि ट्याक्टीकल मुभबाट शान्ति पूर्ण ढंगले लोकतान्त्रिक प्रक्रियामा आउन बाध्य भएपछि त्यस बाटोबाट फेरी कब्जा गर्न खोज्ने ? अहिले त आफुलाई प्रजातन्त्रवादी भन्नेहरु पनि प्रचण्डपथ अंगीकार गरेर कुदे जस्तो लाग्छ । सरकार चलाउन पनि नदिने वितण्डा फैलाउने कुप्रचार गर्ने प्रयासहरु हुँदै आए र गत वर्षदेखि यो प्रयास अत्यन्तै तिब्र हुँदै गए । ”

वर्तमान झण्डै दुईतिहाईको हैसियत प्राप्त गरेर जनताको अभिमतबाट संविधान सम्मत ढंगले बनेको सरकार भएको भन्दै उहाँले लोकतन्त्र सिध्याउन हिँडेकाहरुले सरकारको विरोध गरेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथमा, प्रचण्डलाई गुरु मानेर अघि बढेको भन्दै उहाँले आवेश र उत्तेजनाको राजनीतिक नगर्न सभापति देउवालाई सुझाव दिनुभयो । उहाँले झण्डै दुई तिहाई को सरकारले गरेको निर्वाचनमा भाग नलिए कसले गरेको लिने भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “के गर्दा हुन्छ लोकतान्त्रिक ? सडकबाट हुन्छ ? फलानाले गरेको चुनावमा भाग लिन्न । अहिलेको प्रधानमन्त्री देशमा पपुलर भोट भएको । जनताको विश्वास जितेर आएको पार्टी, अहिलेको विपक्षी दलले गरेको चुनावबाट त्यो हैसियत प्राप्त गरेको पार्टीको नेतृत्वमा भएको चुनावमा नजाने ? यो कुन लोकतान्त्रिक प्रक्रिया, अभ्यास र आचरणभित्र कहाँनेर पर्छ ?”

कु भनेको के हो थाहा छ ?
लोकतन्त्रका विरुद्धमा हुँदै आएका अनुचित कुराहरुको विपक्षमा नागरिक समाज पनि बोल्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले नागरिक समाज र बुद्धिजीवीको भूमिका माथि प्रश्न गर्नुभयो । केही व्यक्तिहरुले आफुले भनेजस्तो नहुँदा संविधानविपरीत देख्ने गरेको भन्दै उहाँले कु भनेको के हो थाहा छ भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “आफुले भने जस्तो भएन भने कु भयो भन्ने । के बर्मा जस्तै भएको हो नेपालमा । कु के लाई भनिन्छ ? संविधानको पालना, लोकतान्त्रिक अभ्यास गर्दा कु हुन्छ ? ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्