राजनीति

प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी : कसले मार्ला बाजी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ७ गते २०:४६
प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी : कसले मार्ला बाजी ? (भिडियो रिपोर्टसहित)

७ जेठ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बनाउन दिएको समयसीमामा प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेश गर्नुभएको छ ।

यसअघि विश्वासको मत पाउन नसक्ने बताएर नयाँ सरकार गठनका लागि सिफारिस गरेका प्रधानमन्त्री ओली आज दाबी पेश गर्न भने देउवा भन्दा अघि राष्ट्रपति कार्यालय शितल निवास पुग्नुभयो । दुबै दाबीपछि अब राष्ट्रपति कार्यालयले के गर्छ भन्ने चासो छ । दाबी पेश गरेका दुबैले आफुसँग बहुमत रहेको बताएका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको २१ घण्टे समय सीमाभित्र दुइवटा दाबी परेका छन् ।

विश्वासको मत पाउने संभावना देखिन भन्दै नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफैसँग बहुमत रहेको भन्दै राष्ट्रपति कार्यालय शीतल निवासमा दाबी हाल्नुभएको छ ।

शुक्रबार नै पत्रकार सम्मेलनमा आफुसँग एकतिहाइ सांसदको मात्रै समर्थन रहेको बताएका ओलीले राष्ट्रपति कार्यालयमा बुझाएको पत्रमा भने १ सय ५३ जनाको साथ रहेको दाबी गर्नुभएको छ । दाबीमा एमालेका तर्फबाट संसदीय दलका नेता केपी शर्मा ओली, जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षर छ ।

ओलीले आफूलाई एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ जना सांसदको समर्थन रहेको दाबी गर्नुभएको छ । शुक्रबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बहुमत सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी पेश गर्नुभयो ।

देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी १ सय ४९ जना सांसदको समर्थनसहित दाबी पेश गर्नुभएको छ । प्रधानमन्त्रीले गरेको दाबीमा पार्टीगत रुपमा मात्रै हस्ताक्षर छ भने देउवाकोमा सांसदकै हस्ताक्षर गरिएको छ ।

यद्यपि केही सांसदले आफ्नो पुरानो हस्ताक्षर भएका बताएका छन् । सरकारमा दावी पेश गर्ने क्रममा राजनीतिक दल र तिनका नेताले निकै लज्जास्पद गतिविधि देखाएका छन् ।

प्रधानमन्त्री ओलीले जसपाका सबै ३२ सांसदको आफुलाई समर्थन रहेको दाबी गर्नुभएको छ । जबकी जसपाका १३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने दाबीमा हस्ताक्षर गरेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले आफ्नो दल नेकपा एमालेका सबै १ सय २१ जनाको समर्थन रहेको पनि उल्लेख गर्नुभएको छ । जवकी देउवालाई प्रधानमन्त्री बनाउने दाबी पेश गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नै शितल निवास पुग्नुभएको थियो ।

देउवाको समर्थनमा नेपाल खनाल समूहका २७ जना सांसदले हस्ताक्षर गरेका छन् । ति मध्ये केही सांसदले आफ्नो पुरानो हस्ताक्षर प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । एमाले संस्थापनका अनुसार यस्ता सांसदको संख्या पाँच छ ।

हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई पनि जानकारी गराएको संस्थापनको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि बिहीबार आव्हान गर्नुभएको थियो ।

त्यसअघि मन्त्रीपरिषदको बैठकले विश्वासको मत नलिने र नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्ने निर्णय गरेको थियो । अर्को दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफुलाई सरकार चलाउन मन नलागेकाले मार्गप्रसस्त गरेको बताउनुभयो । तर त्यसको केही घण्टामै उहाँ बहुमतको सरकार बनाउने दाबी गर्न शीतल निवास पुग्नुभएको छ ।

यसबाट प्रधानमन्त्रीले फेरि पनि आफू राजनीतिक तिकडममा अरु भन्दा आफू नै अघि रहेको देखाउनुभएको छ । तत्कालका लागि बल राष्ट्रपतिको कोर्टमा पुगेको छ । कानूनका जानकार यस्तो अवस्थामा राष्ट्रपतिले सांसदलाई लाइन लगाएर हस्ताक्षर रुजु गराउनुपर्ने बताउँछन् ।

तर प्रधानमन्त्रीलाई सहज हुने निर्णय गर्दै आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसो गर्नुहोला भन्ने धेरैलाई विश्वास छैन । बरु प्रधानमन्त्री ओलीलाई नै उहाँले बहुमतको प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नुभयो भने आश्चर्य हुनेछैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्