राजनीति

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई यसरी हेपे, हाकाहाकी आचारसंहिता उल्लंघन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ५ गते २१:०१
प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई यसरी हेपे, हाकाहाकी आचारसंहिता उल्लंघन (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट निर्वाचन आचार संहिता उल्लंघन भएको छ । राष्ट्रिय सभा उपचुनावमा गृहमन्त्री रामबहादुर थापालाई भोट मागेर प्रधानमन्त्री ओलीले निर्वाचन आचार संहिता उल्लंघन गर्नुभएको हो । निर्वाचन आयोगले जेठ ३ गते रातिदेखि भोट माग्न र चुनाव प्रचार प्रसार नपाइने गरी मौन अवधि लगाएपनि प्रधानमन्त्री ओली त्यसको बेवास्ता गर्नुभएको छ ।

तेस्रो कार्यकालका लागि शपथ लिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो पर्दैन भनेर प्रतिज्ञा गर्न अस्वीकार गर्दै अशोभनीय व्यवहार गरेर राष्ट्रपतिको अपमान गरेको विषय अहिले पनि चर्चामै छ । यो न्यायिक निरुपणको विषय बनेको छ र अदालतमा मुद्दा परेको छ ।

एउटा विषय चर्चामै रहेका बेला प्रधानमन्त्री ओली फेरि अर्को संवैधानिक संस्थाको मान मर्दनमा उत्रिनुभएको छ । र, बुधबार प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई जानी जानी हेप्नुभएको छ, निर्वाचन आचार संहिता उल्लंघन गरेर । निर्वाचन आयोगले जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भएको जानकारी दिँदै चुनाव प्रचार प्रसार गर्न र भोट माग्न रोक लगायो । मंगलवार थप सूचना निकालेरै आयोगले सबैको ध्यानाकर्षण गर्यो ।

तर आयोगको आचारसंहिताको बेवास्ता गर्दै प्रधानमन्त्री ओली राष्ट्रिय सभा उपचुनावका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई भोट माग्दै दुई पृष्ठ लामो अपील नै सार्वजनिक गर्नुभयो । र, आफ्नो पार्टीका मतदातालाई थापाका पक्षमा भोट हाल भनेर निर्देशन दिनुभयो, जुन सरासर आचारसंहितको उल्लंघन हो । प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आचारसंहिता २०७२ मा मौन अवधिमा पालन गर्नुपर्ने आचरण बुँदामा ‘निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने’ उल्लेख छ ।

साथै आचारसंहितामा नेपाल र प्रदेश सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नहुने भनिएको छ । जसको प्रधानमन्त्री ओलीले धज्जी उडाउनुभएको छ । यता अपील निकालेर एमाले उम्मेदवार थापालाई जिताउन मैदान उत्रेका ओलीले भोट नदिए कारवाही गर्नेसम्मको चेतावनी दिनुभयो, जबकी अरुलाई अपील मार्फत पार्टीको विधि पद्दति सिकाईरहेका प्रधानमन्त्रीले संवैधानिक अंगको मानमर्दन गर्दा भने विधिविधानको कुनै मतलव गर्नुभएन ।

आचार संहिता जे हुन्छ होस मेरो पार्टीले जित्नुपर्छ भन्ने बाहेक उहाँमा अरु कुनै कुराको मतलव भएको देखिएन, यो सिधा सिधा निर्वाचन आयोगको मान मर्दन हो । संवैधानिक संस्थामाथि प्रधानमन्त्री ओलीको मनपरीको यो पछिल्लो उदाहरण मात्रै हो, केही समययताका ओलीका कदम हेर्ने हो भने सबैलाई आफू मातहत राखेर ईशारामा चलाउने ईच्छा देखिन्छ, जुन लोकतन्त्रका लागि शुभ होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्