Main News

टोल-टोलमा आइसोलेसन सेन्टर स्वास्थ्य मन्त्रालय भन्छ- यो घातक हुन सक्छ(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ४ गते २०:३४
टोल-टोलमा आइसोलेसन सेन्टर स्वास्थ्य मन्त्रालय भन्छ- यो घातक हुन सक्छ(भिडियो रिपोर्टसहित)

४ जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेशन सेन्टर नबनाउन सबैलाई आग्रह गरेको छ । कोभिड नाइन्टिन संक्रमणका बिरामी बढेसँगै विभिन्न संघसंस्थाले आइसोलेशन सेन्टर खोल्ने क्रम बढेपछि मन्त्रालयले आज जथाभावी आइसोलेशन केन्द्र नखोल्न भनेको हो ।

कोभिड नाइन्टिन संक्रमणका बिरामी बढेसँगै विभिन्न संघसंस्थाले आइसोलेशन सेन्टर खोल्ने क्रम बढेको छ । टोलटोलमा पनि समुदायले आइसोलेशन सेन्टर सञ्चालन गरिरहेका छन् । कोरोना संक्रमितलाई राख्न र उनीहरुलाई उपचार गर्न भनेर बनाइएका कतिपय आइसोलेशनको मापदन्ड पुगेको पाइँदैन ।

पोहोर लकडाउनमा मापदण्डबिनाका क्वारन्टिन बनाइएका कारण कतिपयले क्वारन्टिनमै ज्यान गुमाएका थिए । यो पटक खुलेका मापदण्डविपरीतका आइसोलेशन सेन्टर पनि घातक हुन सक्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ ।

स्वास्थ्य मापदण्डबिनाका आइसोलेशन केन्द्र ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायतका सामग्री राखेर बनाइएको छ । यी सुविधा मात्र दिनु पर्याप्त छैन ।

त्यसैले मन्त्रालयले आइसोलेशन केन्द्रमा स्वास्थ्यकर्मी, उपचारमा चाहिने उपकरण, औषधी र क्रिटिकल केयरका सामग्री पनि हुनुपर्छ भनेको छ । आइसोलेशनमा बसेका संक्रमितमा कुनै समस्या भइहालेमा उनीहरुलाई उपचारका लागि अस्पतालसँग समन्वय र प्रत्यक्ष निगरानीको सुनिश्चितता गरेर मात्र आइसोलेशन सेन्टर खोल्न मन्त्रालयको सुझाव छ ।

अहिले नै अस्पतालमा गम्भीर बिरामीको उपचारमा अक्सिजन लगायतका सामग्रीको अभाव छ । टोलटोलमा खुलेका आइसोलेशन सेन्टरका नाममा अक्सिजन लगायतका स्वास्थ्य सामग्री पनि धेरै होल्ड हुने संभावना छ । एकातिर आइसोलेशन सेन्टरमा अक्सिजन त्यत्तिकै रहने र अर्कातिर अस्पतालमा सिकिस्त बिरामीले अक्सिजन नपाउने स्थिति आउनेतर्फ मन्त्रालयले सबैलाई सचेत गराएको छ ।

लक्षण नभएका संक्रमित परिवारका अरु सदस्यसँग अलग भएर घरमै आसोलेशनमा बस्नु नै उत्तम हुन्छ । घरमै बस्दा घरमै बनाएको पोषिलो खाना पाइन्छ । परिवारका सदस्यले हेरचाह गर्छन् । यसले संक्रमित व्यक्तिलाई सजिलो हुन्छ । तर घरमै बसे पनि संक्रमितलाई कुनै लक्षण देखिएमा वा स्वास्थ्य समस्या भएमा भने तुरुन्तै चिकित्सककै निगरानीमा उपचार गर्नुपर्छ ।

कोभिड नाइन्टिनको उपचार नभइरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन सबैलाई सरकारको आग्रह छ । संक्रमण फैलन नदिन स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न पनि मन्त्रालयले सबैलाई अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *