Main News

नेपालसहितका विकासोन्मुख देशलाई सहयोग गर्न धनी देशलाई डब्लूएचओको आग्रह

हिमालय टिभी
२०७८ जेठ १ गते १५:३१
नेपालसहितका विकासोन्मुख देशलाई  सहयोग गर्न धनी देशलाई डब्लूएचओको आग्रह

१ जेठ २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेका नेपाललगायतका देशलाई आपत्कालीन सहयोग गर्न धनी देशलाई आग्रह गरेको छ ।

जेनेभामा भएको नियमित पत्रकार सम्मेलनका डब्लुएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले कोरोना संक्रमणबाट समस्यामा परेका देशलाई सहयोग गर्न ठूला र धनी देशलाई आग्रह गर्नुभएको हो ।

पछिल्लो समय नेपाल, भारत, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका देशमा कोरोना संक्रमण तीव्र बनेपछि समस्या भएको उहाँले बताउनुभयो ।

गेब्रियसले सम्पन्न राष्ट्रले बालबालिका तथा किशोर किशोरीलाई कोरोना विरुद्धको खोप दिन बनाएको योजना परिवर्तन गरि त्यो खोप, खोप पाउन नसकेका राष्ट्रमा सहयोग गर्न आग्रह गर्नुभयो । अमेरिका लगायतका सम्पन्न राष्ट्रहरुले गत हप्ता १२ देखि १५ वर्षका किशोर किशोरीलाई खोप दिने घोषणा गरेका थिए ।

यसबाट कम आय भएको राष्ट्रका मानिसले खोप पाउन समय लाग्ने भन्दै उहाँले त्यो खोप विश्वव्यापी खोप परियोजना ‘कोभ्याक्स’ लाई दिन अनुरोध गर्नुभयो । कोभ्याक्स परियोजनाले नेपाल जस्ता मध्यम र न्यून आय भएका देशलाई खोप उपलब्ध गराउँदै आएको छ ।

कोभ्याक्स परियोजनाको खोप नेपालले अहिलेसम्म साढे ३ लाख डोज मात्र पाएको छ । नेपालले यो परियोजनाको ६० लाख डोज खोप पाउने भए पनि खोप अभाव भएकाले बाँकी खोप कहिले आउने एकीन छैन ।

हालसम्म विश्वभरी एक अर्बभन्दा बढी खोप प्रयोग भइसकेको छ । जसको शुन्य दशमलव ३ प्रतिशत मात्रै खोप गरिब देशमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *