संघीय संसदका पदाधिकारी र कर्मचारीलाई दोस्रो चरणको खोप लगाइँदै
![संघीय संसदका पदाधिकारी र कर्मचारीलाई दोस्रो चरणको खोप लगाइँदै](https://www.himalayatv.com/wp-content/uploads/2021/02/corona-khop-vaccine-1.jpg)
३१ वैशाख २०७८ काठमाडौं । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।
सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका सार्वजनिक गरेको थियो ।
पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतलाई फरक फरक बार तोकिएको छ ।
पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन् ।
सचिवालयका अनुसार आज प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूको पालो तोकिएको छ । यस्तै उहाँहरुका स्वकीय सचिवालयका कर्मचारीको पनि खोपको पालो तोकिएको छ ।
भोलि सङ्घीय संसद् सचिवालयका सम्पूर्ण कर्मचारी र सङ्घीय संसद् भवन बानेश्वरका कर्मचारीलाई खोप लगाइनेछ ।
आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्य व्यक्तिलाई खोप लगाइनेछ ।
प्रतिक्रिया