आज मुस्लिम धर्मावलम्वी इद पर्व मनाउँदै

३१ वैशाख २०७८ काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान आज मनाइँदैछ। यो पर्वलाई इद उल फित्र पनि भनिन्छ ।
इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात उपावास बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रतको आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो ।
रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
रमजान ब्रतको आज अन्तिम साँझ चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ । यो पर्वमा मुसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।्
यसवर्ष कोरोना महामारीका कारण अरु चाडपर्व र काजकर्मजस्तै इद उल फित्तर पनि स्वास्थ्य मापदण्डको ख्याल गर्दै मनाउन सरकारले आग्रह गरेको छ । मुस्लिम समुदायका अगुवाहरुले पनि भीडभाड नगरी र स्वास्थ्य मापदण्डको ख्याल गरी इद मनाउन ध्यानाकर्षण गराएका छन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
इद–उल–फित्रका अवसरमा शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको कामना गर्नु भएको छ ।
प्रतिक्रिया