राजनीति

उत्कर्षमा एमालेको लफडा : कहिले र कसरी होला वारपार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २८ गते ५:५९
उत्कर्षमा एमालेको लफडा : कहिले र कसरी होला वारपार ? (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रक्रियासँगै सत्तारुढ नेकपा एमालेको विवाद पनि उत्कर्षमा पुगेको छ । नेपाल–खनाल पक्षका २८ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नदिएपछि अब एमालेभित्रको राजनीतिले पनि भावी सरकार गठनमा असर पर्ने देखिएको छ ।

सर्वोच्च अदालतको निर्णयसँगै व्युँतिएको सत्तारुढ नेकपा एमालेको विवाद सोमबार पटाक्षेप हुने धेरैको अनुमान थियो । प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडी नै नेपाल–खनाल पक्षका सांसदले सामूहिक रुपमा राजीनामा दिने तयारी गरेको खबरले पनि एमालेको विवाद निर्णायक मोडमा पुगेको आंकलन गरिएको थियो ।

तर अन्तिममा नेपाल–खनाल पक्षका सांसदले राजीनामा दिएनन् । बरु विश्वासको मत दिने संसद बैठकमा उपस्थित नहुने निर्णयमा यो पक्ष पुग्यो । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु देश, जनता र लोकतन्त्रका हितमा नहुने उसको ठहर छ ।

पछिल्लो पटक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल खनाल समूहलाई पेलिरहनुभएको छ । शिर्ष नेतालाई कारवाही गरिएको छ । ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको छ ।

यो अवस्थामा नेपाल खनाल समूहले अध्यक्ष ओलीलाई कर्नरमा पार्न खोजेको थियो । त्यसै अनुसार नै उसले विश्वासको मत चाहिने भए सर्वोच्चको निर्णय अनुसार जेठ २ गतेको अवस्थामा फर्क भनेर उसले शर्त राख्यो । तर अध्यक्ष ओली अडानबाट पछि नहटेपछि नेपाल खनाल समूहसँग सामूहिक राजीनामा दिने वा संसदमा नजाने भन्ने विकल्प बाँकी थियो ।

उसले दोस्रो विकल्प रोजेर पार्टी विभाजनको दोष आफ्नो टाउकोमा नल्याउने बाटो रोजेको छ । अब ह्वीप उल्लंघन गरेको आरोपमा कारवाही हुने र त्यसपछि सामूहिक राजिनामा दिने उसको तयारी देखिन्छ । नेता रावलले पनि राजिनामाबाट पछि नहटेको बताउनुभएको छ । बरु परिस्थिति अनुसार अर्को कदम पनि चाल्ने उहाँको भनाइ छ ।

अध्यक्ष केपी शर्मा ओली नै अवैध भएकोले निर्देशन मान्न जरुरी नभएको नेपाल खनाल समूहको ठहर छ । निर्देशन मान्नु पर्ने हो भने पार्टीलाई ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने उसको अडान छ ।

अध्यक्ष ओली जेठ २ को अवस्थामा फर्कन कुनै पनि हालतमा तयार नभएको परिस्थितिमा नेपाल खनाल समूहको आगामी रणनीति कस्तो हुन्छ हेर्न बाँकी छ । यो समुहको रणनीतिले नै नयाँ सरकार बन्ने नबन्ने भन्ने पनि तय हुने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्