अधिकांश नतिजा पोजिटिभ देखिएपछि झापामा उच्च सतर्कता
२३ वैशाख २०७८ झापा । कोरोना परीक्षणका लागि संकलन गरिएका अधिकांश नमूनाको नतिजा पोजेटिभ आउन थालेपछि झापामा उच्च सतर्कता अपनाउन थालिएको छ ।
कोरोना संक्रमण एक सातामै चार गुणासम्म फैलिएको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले संक्रमितको उपचार सहज र सरल बनाउन अस्पतालहरुको पूर्वाधारको आकस्मिक अनुगमन शुरु गरेको हो ।
झापाको मेची अञ्चल अस्पतालमा मंगलबार परीक्षणका लागि ९१ जनाको स्वाबको नमूना संकलन गरिएकोमा ७८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले उपचारमा संलग्न रहँदै आएका निजी र सरकारी अस्पतालको हिजोदेखि आकस्मिक अनुगमन थालेको हो ।
कोरोना संक्रमण समुदायको तल्लो तहसम्मै पुगेपछि पूर्वतयारी अनुरुप अस्पतालहरुको अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
बालबालिका र युवाहरुमा बढी संक्रमण देखिएको र उपचारका लागि तत्कालै अस्पताल लैजानुपर्ने अवस्थाका संक्रमितहरुको संख्या बढेकाले अस्पतालको अवस्थाबारे जानकारी लिइएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो ।
हालको परीक्षणको तथ्याङ्कका आधारमा समुदायका ७० प्रतिशतभन्दा बढीमा संक्रमण फैलिएकाले जटिल अवस्था आउन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
अनुगमनका क्रममा अस्पतालका संचालक र चिकित्सकले स्वास्थ्यकर्मीले विभिन्न बहानामा जागिरै छोड्न थालेकाले जनशक्ति अभाव भएको बताएका थिए ।
हालसम्म झापामा ५ हजार ५ सय ६८ जना संक्रमित भइसकेका छन् । तिमध्ये ८ सय ८७ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया