Main News

कर्णालीमा पाँच र सेती प्रादेशिक अस्पतालमा थप छ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २१ गते १२:४५
कर्णालीमा पाँच र सेती प्रादेशिक अस्पतालमा थप छ जना कोरोना संक्रमितको मृत्यु

२१ वैशाख २०७८ धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय छन् ।

महिलाको आज बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

यसैगरी दार्चुला, मालिकार्जुन गाउँंपालिका –८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजेका समयमा मृत्यु भएको छ ।

यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका –१२ घर भएका ७१ वर्षीय पुरुषको अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा उनको आज बिहान ३ बजेका समयमा मृत्यु भएको हो ।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि यही वैशाख १४ गते एन्टिजेनबाट जाँच गर्दा रिपोेर्ट पोजेटिभ आएकामा इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेका समयमा मृत्यु भएको जनाइएको छ ।

सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएकामा राति २ बजेका समयमा उपचारका क्रममा उनको मृत्यु भएको जोशीले बताउनुभयो ।

त्यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताउनुभयो ।

उहाँका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोमबार पाँच र आइतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक डा खड्काले बताउनुभयो ।

त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार १२८ सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन् । दुई हजार १९४ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *