Main News

विज्ञ भन्छन् – अहिलेको भयावह स्थिति आउनुमा सरकार नै जिम्मेवार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २० गते ६:१३
विज्ञ भन्छन् – अहिलेको भयावह स्थिति आउनुमा सरकार नै जिम्मेवार (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि अब आफूले केही गर्न नसक्ने भन्दै सरकारले हात उठाइसकेको छ । अस्पतालमा बेड उपलब्ध गराउन सक्दिन भनेर सरकारले गरेको घोषणाको चौतर्फी आलोचना भइरहेको छ । तर अहिलेको यो भयावह स्थिति आउनुमा सरकारकै भूमिका जिम्मेवार रहेको विज्ञहरु बताउछन् ।

सरकारले बढ्दो कोरोना संक्रमण रोक्न अब स्वास्थ्य प्रणालीले थेग्न नसक्ने र उपचारका लागि अस्पतालमा बेड नहुने भनिसकेको छ । नागरिकलाई जिम्मेवार हुन सरकारको आग्रह छ ।

तर विज्ञहरुले भने सरकारले केही काम र प्रयास नै नगरी उपचार गर्न सक्दिनँ भनेको आरोप लगाईरहेका छन । होटल, रिसोर्टलाई नै अस्पताल बनाएर भए पनि संक्रमितको उपचार गर्न सरकारलाई उनीहरुको सुझाव छ ।

सरकारले संक्रमितको उपचार त गर्नु पर्छ नै संक्रमण नफैलियोस भनेर रोक्न पनि काम गर्नु पर्छ । संक्रमण रोक्न अहिले ३० जिल्लामा निषेधाज्ञा लगाइएको छ । तर केही ठाउँमा त्यो नाम मात्रको छ ।

निषेधाज्ञा नभएका ठाउँमा पनि संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गराएको पाइँदैन । त्यसैले सरकारले निषेधाज्ञामा कडाइ गर्नु पर्छ र स्वास्थ्य मापदण्ड पालना गराउन पनि पहल गर्नु पर्छ ।

अहिले अस्पतालमा भेन्टिलेटर, अक्सिजन र बेडको अभाव छ । अभाव पूर्ति गरेर सरकारले गम्भीर विरामीको उपचार गर्नु पर्छ । लक्षण नदेखिएका र गम्भिर नभएकालाई घरमै क्वारन्टिनमा राखेर निगरानी गर्नुपर्छ । त्यस्तै ग्रामिण भेगमा स्वास्थ्य केन्द्रको स्थापना र अक्सिजन नपुगेका ठाउँमा अक्सिजन कन्सेन्टको व्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक छ ।

देशमा कोरोना संक्रमण शुरु भएको एक वर्ष बितिसकेको छ । यो समयमा सरकारले पर्याप्त तयारी गर्नु पर्ने थियो । तर सरकारले महामारी रोक्नका लागि आवश्यक तयारी गरेन । यो विज्ञकै गुनासो हो ।

विज्ञको चेतावनीका बाबजुद प्रधानमन्त्री र मन्त्रीकै अगुवाइृमै सभा भेला र र्‍याली भए । जसले गर्दा सरकारसँगै नागरिक पनि गैरजिम्मेवार बने । तर अब राज्यले आफूले गर्नूपर्ने तयारीको समय घर्किएको छ ।

यस्तो बेलामा नागरिकलाई आशा जगाउने, नागरिकको दुखको समयमा उभिने भनेको सरकार नै हो । यो समयमा सक्दिँन भनेर पन्छिने होईन आवश्यक कामका लागि अघि बढेर नागरिकको सहयोग लिनुपर्छ र नागरिकले त्यसमा साथ दिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *