दुई जना सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित
१५ वैशाख २०७८ काठमाडौं । गण्डकी प्रदेश सरकारको भविष्यको छिनोफानो हुने भनिएको अविश्वास प्रस्तावमाथिको मतदान आज टरेको छ ।
दुईजना सांसद हराएपछि प्रदेशसभा बैठक नै स्थगित गरिएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान गर्ने कार्यसूची थियो।
स्वतन्त्र सांसद दिपक मनाङे र राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि प्रस्तावमाथिको मतदानमा अन्योल भएको हो । प्रदेशसभा सचिवालयले बैठकको अर्को मिति नराखी आजको बैठक स्थगित भएको सूचना निकालेको छ ।
प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको छलफल आजै सकिएको थियो । राष्ट्रिय जनमोर्चाले भने आफ्नो सांसद अपहरणमा परेको दावी गरेको छ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका पक्षमा एमालेका २७ सांसद मात्र छन । कांग्रेसका १५, माओवादीका १२ जनमोर्चाका ३ र जसपाका २ सांसद अविश्वास प्रस्तावका पक्षमा थिए ।
एकजना सांसद हराउँदा अविस्वास प्रस्तावमा वहुमत पुग्दैन । सरकार ढाल्न ३१ मत चाहिन्छ । फ्लोर क्रस हुने त्रासमा कांग्रेस, माओवादी र जसपाले सांसदलाई हिजोदेखि रिसोर्टमा राखेका थिए ।
मुख्यमन्त्री गुरुङविरुद्ध गत १३ वैशाखमा संसदमा कांग्रेस, माओवादी र जसपाका २८ सांसदले अविश्वास प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया