राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

हिमालय टिभी
२०७८ वैशाख १३ गते १५:१५
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

१३ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्तावमाथि छलफल शुरु भएको छ ।

विशेष अधिवेशन शुरु भएको पहिलो दिनमै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नुभएको हो ।

कांग्रेस नेता नेपालीले मुख्यमन्त्री गुरुङ पदमा रहिरहँदा प्रदेश सभालाई क्षति पुग्ने भएकाले अविश्वास प्रस्ताव ल्याउनु परेको दावी गर्नुभयो । दुई तिहाई बहुमतसहित मुख्यमन्त्री भए पनि गुरुङले जनअपेक्षा अनुसारको काम गर्न नसकेको उहाँको आरोप छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङविरुद्ध २ वैशाखमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमा कांग्रेस संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्ताव पारित गरेर नयाँ सरकार बनाउन उनीहरुसँग आवश्यक ३१ मत छ । अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि राष्ट्रिय जनमोर्चाले पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

६० सदस्यीय प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रका १२ सांसद छन् । राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एक सांसद छन ।

विपक्षी गठबन्धनको पल्लाभारी देखिएसँगै स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङेले पनि आफ्नो समर्थन नयाँ बन्ने सरकारलाई रहने बताउँदै आउनु भएको छ ।

यसले गर्दा अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिन्छ । सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परिक्षण गरेरमात्र बैठक सुरु हुनुपर्ने भन्दै उठेर विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्