Main News

कोरोनाविरुद्धको खोप लगाउनेको यस्तो भीड, व्यवस्थापन गर्नै हम्मेहम्मे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ६ गते ६:२१
कोरोनाविरुद्धको खोप लगाउनेको यस्तो भीड, व्यवस्थापन गर्नै हम्मेहम्मे (भिडियो रिपोर्टसहित)

६ वैशाख २०७८ काठमाडौं । चीनबाट अनुदानमा प्राप्त खोप गत बुधबारदेखि लगाउन शुरु गरियो । यो अभियानमा नागरिकको सहभागिता उल्लेख्य छ । तर खोप केन्द्रहरु व्यवस्थित नहुँदा नागरिकलाई भने समस्या छ ।

सरकारले पटकपटक अपील गर्दा पनि पहिलो चरणको खोप अभियानमा नागरिकको सहभागिता देखिएन । तर अहिले भने परिस्थिति फेरिएको छ । सरकारले चीनबाट अनुदानमा प्राप्त ८ लाख डोज खोप नागरिकलाई लगाइरहेको छ । यो खोप साढे ३ लाख जनालाई लगाउन सकिन्छ । सरकारले खोप केन्द्र तोकेका काठमाडौंका अस्पतालमा खोप लगाउन इच्छुक नागरिकको लाइन छ ।

खोप लगाउन बिहानैदेखि लाइनमा बसेकाहरु पालो नपाएपछि आक्रोशित छन् ।पहिलो चरणको खोप अभियान शुरु हुँदा नेपालीमा कोरोनाको डर हराइसकेको थियो । सँगै खोपप्रति नागरिकको धारण पनि सकरात्मक थिएन ।

त्यसैले नागिरकले खोप लगाउन त्यत्ति धेरै चासो देखाएनन् । तर अहिले कोरोनाको जोखिम पनि बढेको छ । त्यसैले पनि नागरिक खोप लगाएर सुरक्षित हुन चाहन्छन् । त्यसैले नागरिक घण्टौं लाईनमा बसेर खोप लगाउने पालो कुर्ने गर्छन् ।

खोप लगाएकाहरु, कष्ट गरेरै भए पनि खोप लगाउन पाएकोमा खुसी देखिन्छन् । चीनबाट आएको खोप गत वुधबारदेखि नागरिकलाई लगाउन थालिएको हो । सुरुमा यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने भनिएको थियो । तर यो मापदण्डमा नपरेका पनि खोप लगाउन खोप केन्द्रसम्म पुग्ने गरेका छन् । सुचनाको अभावका कारण पनि केही अस्पतालमा थेगिनसक्ने भिड हुने गरेको छ ।

काठमाडौंका अस्पतालमा देखिएको भीडले नागरिक खोप लगाउन चाहन्छन् भन्ने पुष्टि हुन्छ । तर उनीहलाई लगाउन सरकारसँग खोप छैन । अहिले चीनबाट अनुदानमा आएको खोप लगाइ पनि अब थप खोप कहिले आउँछ टुँगो छैन ।

भारतीय कम्पनीले सिरम इन्स्टिच्युटले पैसा लिएर पनि नेपाललाई १० लाख डोज खोप दिन बाँकी छ । त्यो खोप आएमा यसअघि नै पहिलो डोज लगाएकाले त्यो खोप लगाउन पाउने छन् । तर अरु इच्छुकले खोप लगाउन कहिले पाउने हुन् टुंगो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *