बालबालिकालाई विद्यालय नपठाउन अभिभावकसँग पेडियाट्रिक सोसाइटीको आग्रह
![बालबालिकालाई विद्यालय नपठाउन अभिभावकसँग पेडियाट्रिक सोसाइटीको आग्रह](https://www.himalayatv.com/wp-content/uploads/2019/07/doctor.jpg)
५ वैशाख २०७८ काठमाडौं । बाल चिकित्सकहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले स्वास्थ्यका मापदण्ड पूरा भएको अवस्थामा मात्रै बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई अनुरोध गरेको छ ।
सोसाइटीले कोभिड–नाइन्टिनको संक्रमणबाट बालबालिकालाई बचाउन पाँचबुँदे अपिल जारी गर्दै यस्तो अपिल गरेको हो ।
कोरोनाबाट संक्रमित हुनेमा १० प्रतिशत बालबालिका रहेको भन्दै सोसाइटीले भिडभाडमा बालबालिका लिएर नजान, जानै परेमा स्वास्थ्यका मापदण्ड अपनाउन, बालबालिकालाई अन्य खोपसमेत नियमित लगाउन र बालबालिकामा कुनै पनि असामान्य अवस्था देखिएमा तुरुन्तै चिकित्सककहाँ पुर्याउन अपिल गरेको छ ।
सोसाइटीले आज सूचना जारी गर्दै बालबालिकामा कुनै पनि लक्षण नदेखिए पनि रोग हुनसक्ने र संक्रमण भएको ४ देखि ६ हप्तापछि मात्रै लक्षण देखिने भएकाले सजग रहन अभिभावकलाई सुझाएको छ ।
ढिलो लक्षण देखिँदा बालबालिकामा एमआइएससी (धेरैवटा अंगमा हुनसक्ने असर) भइ सिकिस्त हुनसक्ने र यसको उपचारसमेत जटिल तथा महंगो हुने भन्दै रोकथामका लागि बालबालिका जोगाउन अपिल गरेको छ ।
प्रतिक्रिया