आठ सय बढी कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

४ वैशाख २०७८ काठमाडौं । नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाँच हजार ३ सय ३३ पीसीआर परीक्षण गर्दा ७ सय ६८ र ६ सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट भेटिएका संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ ।
त्यस्तै पछिल्लो पटक २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको कुल संख्या २ लाख ७५ हजार ३८ छ। हाल निको हुने दर ९७ प्रतिशत छ । आज सबै भन्दा धेरै उपत्यकामा ३ सय ९ जना संक्रमित भएका छन् । ती मध्ये काठमाडौंमा २ सय १२ जनामा संक्रमण देखिएको छ ।
यस्तै ललितपुरमा ७४ र भक्तपुरमा २३ जना संक्रमति थपिएका छन् । यसै गरी उपत्यका बाहिर पर्सामा ५० जना संक्रमति थपिएका छन् भने रुपन्देहीमा ३५ र कैलालीमा ३४ जना संक्रमित भएका छन् । ती मध्ये बालबालिका पनि संक्रमण तीव्र देखिएको छ ।
आज ९ वर्ष मुनिका १२ जना बालबालिकामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ भने १० देखि १९ वर्षका ७२ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो पटक थप पाँच जनाको मृत्यु भएको मन्त्रलायले जनाएको छ ।
योसँगै कुल मृतकको संख्या ३ हजार ७५ पुगेको छ । हाल देशभरका विभिन्न अस्पतालमा ३५ जनाको आइसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया