Main News

नेपालमा युके भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिँदै, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७८ वैशाख २ गते ९:१३
नेपालमा युके भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिँदै, सतर्कता अपनाउन सुझाव

२ वैशाख २०७८ काठमाडौं । सरकारले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर शुरु भएको बताएको छ ।

पछिल्लो समय मुलुकमा बढ्दो कोरोना सङ्क्रमणको दर र अस्पताल भर्ना हुने बिरामीको अनुपातले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर शुरु भइसकेको पुष्टि भएको सरकारले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो समय नेपालमा देखिने गरेका कोरोना सङ्क्रमितहरुमा बेलायतमा देखिएको न्यू भेरिएन्ट जसलाई युके भेरिएन्ट समेत भनिन्छ र भारतमा देखिएको डबल म्युटेन्ट भाइरस पनि पुष्टि भएको छ ।

मन्त्रालयले भारतसँग जोडिएका सिमानाकाहरुमा गर्ने गरेको नमूना परीक्षण र प्रयोगशालाहरुमा गरिने पीसीआर परीक्षणमा युके भेरिएन्ट र डबल म्युटेन्ट भेरिएन्ट फेला परेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना महामारीको दोस्रो लहर शुरु भइसकेको भन्दै सबैलाई सचेत र सतर्क रहनआग्रह गर्नुभएको छ ।

यस्तै स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको दोस्रो चरणको लहर राम्रोसँग समुदायस्तरमै फैलिसकेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा पछिल्लो समय गरिएको कोरोनाको आरटी पीसीआर र एन्टीजेन परीक्षणमा देखिएको कोरोना सङ्क्रमणले समुदायस्तरमै कोरोना फैलिसकेको बताउनुभयो ।

उहाँले मुलुकका विभिन्न शहरहरुमा कोरोना भाइरसको यूके भेरियन्टको संक्रमण फैलिएको भन्दै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरिएन्ट अफकन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि पुष्टि भएको उल्लेख गर्नुभयो ।

मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा डा. पौडेलले पछिल्लो समय नेपालमा युके भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएको बताउनुभयो । जनवरी महिनाको पहिलो साता ४ प्रतिशत पीसीआर पोजेटिभमा एस जिन नेगेटिभ थियो, जुन मार्च महिनाको अन्त्यमा आइपुग्दा ७७ प्रतिशत पुगेको उहाँको भनाइ छ ।

उहाँकाअनुसार एस जिन नेगेभिट भएकामध्ये अधिकांशमा यूके भेरिएन्ट पाइएको छ । एस जिन नेगेटिभ भएका १० वटा र एस जिन पोजेटिभ आएका ५ वटा नमूना जिनसिक्वेन्सिङका लागि हङकङस्थित प्रयोगशालामा पठाइएको थियो ।

डा. पौडेलले एस जिन नेगेटिभ भएका १० मध्ये ९ वटा नमूनामा यूके भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको बताउनुभयो । उनीहरु २१ देखि ५९ वर्ष उमेर समूहका थिए । जसमा४ जना काठमाडौंका, २÷२ जना, भक्तपुर र पोखरा तथा एक जना नुवाकोटका थिए भने दार्चुलाका एक व्यक्तिको नमूनाको जिन सिक्वेन्सिङ हुन सकेन ।

हङकङ पठाइएका एस जिन पोजेटिभ आएका ५ वटा नमूनामध्ये एकमा डबल म्युटेन्ट पुष्टि भएको पनि डा. पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *