Main News

कोरोनाको दोस्रो लहर रोक्न यस्तो छ सरकारको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते २०:२३
कोरोनाको दोस्रो लहर रोक्न यस्तो छ सरकारको तयारी (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दिनदिनै संक्रमण दर बढ्न थालेपछि सरकारी निकाय विभिन्न योजना बनाउन व्यस्त देखिएका छन् । सरकार र विज्ञले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाइ अपिल गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले ७ जना कोरोना संक्रमित विरामी आइसीयूमा छन् । अस्पतालले सोमबार ७४ जनामा पीसीआर परीक्षण गरेकोमा १५ जनामा संक्रमण पुष्टि भयो ।

विगत तीन महिनादेखिको तथ्याकं हेर्ने हो भने पनि शुक्रराज ट्रपिकलमा आइसीयूमा बस्नेको संख्या पछिल्लो पटक विस्तारै बढ्दै गएको छ । यसले चिन्ता बढाएको छ ।

चहलपहल हेर्दा देशमा अहिले कोरोना संक्रमण नै नभएको जस्तो देखिन्छ । तर भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै नेपालमा पनि खतराको घण्टी बजेको छ । भारतमा स्वास्थ्य मापदण्ड पालना नगर्दा दोस्रो लहर आएकाले नेपालमा पनि त्यस्तो हुनसक्ने विज्ञको आंकलन छ ।

अहिले संक्रमण बढ्नुमा भाइरसको नयाँ भेरियन्ट पनि कारण हुन सक्ने अनुमान छ । भारतको महाराष्ट्रबाट नेपाल आएका दुइजना संक्रमितको भेरिएन्ट परीक्षण गर्ने सरकारले तयारी गरिरहेको छ ।

यसवाहेक नयाँ लहर आउन नदिन अन्य उपाए पनि अपनाउन थालिएको सरकारी अधिकारी बताउँछन् । भारतसँगका प्रवेश नाकामा हेल्थ डेक्स व्यवस्थापनसँगै स्थानीय सरकार र स्वास्थ्य चौकिलाई समेत तयारी रहन पत्राचार गरिसकेको छ । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन पनि सरकारले मातहतका निकायलाई निर्देशन पनि दिएको छ ।

नेपालमा सक्रिय कोरोना भाइरस मुलत भारत हुँदै आएको विज्ञको अनुमान छ । अहिले भारतमा भाइरस विस्तारै आक्रामक बनिरहेको छ ।

यो अवस्थामा खुल्ला सीमा नाकाका कारण नेपालमा पनि खतरा बढेको छ । नेपालमा महामारीको दोस्रो लहर आउन नदिन सरकारको तयारीसँगै आम नागरिक पनि सजग बन्नुपर्ने बेला भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *