Main News

वसन्तपुरमा ठड्याइयो चीर, शुरु भयो होली

हिमालय टिभी
२०७७ चैत ८ गते ९:०१
वसन्तपुरमा ठड्याइयो चीर, शुरु भयो होली

८ चैत २०७७ काठमाडौं । रंगहरूको पर्व होलीको आजदेखि विधिवत शुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८:२६ को साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत शुरुवात भएको हो ।

चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।

होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आज विधिवत शुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभयो ।

वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ ।

बाजागाजासहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याइएको हो । कर्माचार्यका अनुसार नासलचोकमा भगवान् कृष्णले गोपिनीसँग लीला गरेको प्रतिमा राखेर कृष्णलीलाको स्मरण गरिन्छ ।

आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको कर्माचार्यले बताउनुभयो । करिब ३० फिट अग्लो उक्त चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याएका हुन् ।

रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *