राजनीति

संसद बैठकमा कांग्रेसले भन्यो–नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ६ गते १५:०७
संसद बैठकमा कांग्रेसले भन्यो–नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन ? (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधिसभा पुनर्स्थापित भएपछि विघटन गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिँदै मार्गप्रशस्त गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रमुख सचेतक खाँडले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशसँगै नैतिक उत्तरदायित्व लिएर सरकार गठनको मार्गप्रशस्त गरिदिनुपर्ने बताउनुभएको हो । उहाँले त्यसकार्यतर्फ सदनको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो “सर्वोच्च अदालतले सरकारको कदमलाई असंवैधानिक भनेपछि प्रधानमन्त्रीले यसको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? त्यसका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्न पर्छ कि पर्दैन ? यतातिर सदन गम्भीर बनोस । ”

उहाँले संविधानको जगमा नै बनेको सरकार भएकाले संसदको गतिविधिलाई गतिशील बनाउने र सम्मान गर्ने दायित्व सरकारको पनि भएको बताउनुभयो । तर सरकार बनेदेखि नै वर्तमान सरकारले निरन्तर संविधानमाथि प्रहार गर्ने काम गरेको दाबी उहाँले गर्नुभयो । । पहिलो दिनबाट विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको सरकारले अग्रमन गरेको छ कि प्रतिगमन गरेको छ भन्दै छातीमा हात राखेर संविधानको किताबमा हात राखेर एकपटक सोच्न आग्रह गर्नुयो ।

सरकारले सामान्य शिष्टाचार पनि नगरी भूमिगत शैलीमा जनप्रतिनिधिहरुको स्थल संसदको अधिवेशन नै अन्त्य गरेको र हिउँदे अधिवेशन कुर्दै गर्दा आलोचना सुन्नुपर्छ भनेर एलौटी ढंगले प्रतिनिधिसभा नै विघटन गरेको तर्क उहाँले गर्नुभयो ।

उहाँले महिला हिंसा तथा एसिड आक्रमणका अपराधीलाई कारवाही गर्ने सवालमा सरकारलाई आफ्नो पार्टीको सधै साथ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “सरकारले सदनमा कुनै विधेयक अगाडि बढाउन चाहँदैन । विल ल्याउन नै चाहँदैन । अत्तो थापेर पहिलो बैठकमा ल्याउन पाएनौं त्यसकारण हाम्रो रिजर्भेसन छ भन्नुहुन्छ । एसिड आक्रमणसँग सम्बन्धी, अपराधीलाई कडा कारवाही होस् त्यसका लागि हाम्रो पार्टी सधै तपाईको साथमा छ । ”

संविधानको प्रावधान विपरीत वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई पार्टीले असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावाद, निरंकुशताप्रेरित कार्य भनेको स्मरण गर्दै उहाँले संविधानलाई सफल बनाउने बाहेकको विकल्प कसैसँग नभएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको संसदीय व्यवस्थाप्रति पूर्ण विश्वास रहेको भन्दै उहाँले कसैले अधिनायकवाद, सर्वसत्तावाद र तानाशाह ल्याउँछु भनेर नसोच्न चेतावनी दिनुभयो ।

उहाँले संविधान र संसदलाई सफल बनाउने विषयमा मनबाट लाग्न पनि सबै दल तथा नेताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधानलाई बदल्छु, नेपालमा अधिनायकवाद ल्याउँछु, नेपालमा सर्वसत्तावाद ल्याउँछु र नेपालमा तानाशाह ल्याउँछु, मानसपटलबाट निरंकुशताको दिशामा बढ्छु भन्ने सबै नेताहरु नेपालमा असफल भएका छन् । त्यही बाटोमा अगाडि नबढ्ुनुहोस्। ”

उहाँले नेपाली कांग्रेस मधेसको समस्या साधान गर्न र संविधान संशोधन गर्न तयार रहेको प्रसंग उल्लेख गर्दे उहाँले एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि संविधान कार्यान्वयनमा सबैले जोड दिनुपर्ने ।

उहाँले भन्नुभयो “शान्ति सम्झौता र शान्ति प्रक्रियामा हामी पूर्ण प्रतिवद्ध छौ । अहिले पनि हाम्रो कमिटमेण्ट छ । तर जतिखेर यो हलमा अँध्यारो अनुहार लगाएर मलिनो अनुहार लगाएर केही नेताहरु बस्नुभएको थियो । उहाँहरु विभिन्न वहानामा यो शान्ति प्रक्रिया ध्वस्त पार्न, शान्ति प्रक्रियालाई अवरोध गर्न लागिरहनुभएको छ । समय आयो भने ती दल र नेताहरुको नाम पनि भनौला । ”

उहाँले प्रधानमन्त्रीले ९ महिना अघि संसदमा उभिएर ३ महिना भित्र सबै नागरिकलाई कोभिड भ्याक्सिन लगाउने भने पनि अहिलेसम्म नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “यसै रोष्टममा आएर सम्माननीय प्रधानमन्त्रीले अब ३ महिनाभित्र सबै नागरिकलाई कोभिडको भ्याक्सिन लगाइने छ भन्नुभएको थियो । प्रधानमन्त्रीले यहाँ आएर बोलेको कुरा पनि ९ महिना भइसक्यो । कुन चाहिँ ३ महिना ७७ सालको हो कि ? ७८ सालको हो कि? ७९ सालको हो की ? ८० सालको ३ महिना हो ? सीमा नभएको ३ महिना हो कि ? १७ लाखलाई भ्यासक्सिन लगाउनुभएको छ । स्टकमा ७ लाखभन्दा बढी छैन । अब सेकेण्ड डोजका लागि त हामीसँग स्टक हुनुपर्थ्यो नि त ?”

उहाँले अरुले शुरुवात गरेका योजना पुरा गरेर, भइसकेका कामलाई देखाएर जनतामा भ्रम छर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो “मेलम्चीको सपना त सन्त नेता कृष्ण प्रसाद भटराईले देख्नुभएको हो नि ? त्यो मेलम्चीको पानी आउने भयो सबैलाई धन्यवाद को एकपटक नाम लिन पनि तपाईलाई कन्जुस्याई, मेलम्ची, सुन्दरीजल र संसदमा पनि छैन । पहिलो सभामुख पनि हो । अहिले हामीले ल्यायौंभन्दा काठमाडौंका जनताले पत्याउँछन् कि पत्याउँदैनन् गम्भीर हुनुहोस् भनेर पनि म आग्रह गर्छु । डीपीआर गरेको छैन । बजेट छैन । सिलन्याश भइसक्यो धमाधम । वा रे विकास । कागजको विकास । दुई वर्षदेखि मोटर चलेको छ । गाडी कुदिरहेको छ । कालोपत्रेको अहिले उद्घाटन । दुई वर्षदेखि पुलमा गाडी कुदिरहेको छ , अहिले बोर्ड लगाएर राजमार्गमा आमसभा, राजमार्गमा सिलन्याश यो कस्तो खालको विकास हो ? कस्तो खालको निर्माण हो ? ”

उहाँले राम्रो कामको शुरुवात गरेका अग्रजलाई सरकारले सम्मान दिन नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “अल्पविकसित र विकसितको बारेमा पनि भूँइचालो नआएको भएदेखि तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाजीकै पालामा भइसकेको हो । अहिले पूर्णता पाएको छ भनेपनि मनमोहन अधिकारीको पालामा शुरु भएको छ, उहाँलाई धन्यवाद, भरतमोहन अधिकारीको पालामामा वृद्धभत्ता शुरुवात भयो, उहाँलाई धन्यवाद । कमसेकम जसको पालोमा इनिसियसन भएको छ, उहाँहरुलाई स्मरण गर्ने त गरौं । उहाँहरुलाई पनि धन्यवाद दिने त गरौं । यस्तो खालको दिउँसै रात पार्ने ढंगमा मुलुक अगाडि नबढोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु ।”

कोभिडका बेला सरकारले श्रमिक, मजदुर, शिक्षक, प्राध्यापक, पर्यटन व्यवसायी, उद्योगी, याताायत व्यवसायी किसान कसैलाई राहत दिन नसकेको भन्दै उहाँले ‘राहत पनि भूमिगत गरेको हो कि ? ’ भनी व्यंग्य गर्नुभयो ।

प्रमख सचेतक खाँडले सरकारलाई श्वेतपत्र जारी गर्न चुनौति दिनुभयो । सरकारको नेतृत्व लिँदै गर्दा वर्तमान सरकारका तात्कालिन अर्थमन्त्रीले विगतको सरकारले मुलुकलाई ऋणमा डुबाएको बताएको उल्लेख गर्दै उहाँले अहिलेको यथार्थ अवस्था बारे जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो “सरकारको हालत के छ भने ऋण लिएर घ्यु खाने । अहिलेको सफल सरकारले यति धेरै ऋण लिएको छ कि नेपालीको टाउकोमा यतिधेरै ऋण कहिले पनि थिएन । सायद उहाँलाई लागेको छ होला । यस्तो स्थिति छ देशमा अब फेरी फर्केर आइन्छ कि आइँदैन । अब अहिले ऋण लिउँ तिर्ने बेलामा त अरु आइहाल्छन् । हाम्रो पालामा ऋण लिउँ घ्यु खाउँ अरुले तिरिहाल्छन् नि भन्नु भएको छ भने त केही भन्नु छैन । ”

उहाँले चालु खर्च बढी र पूँजीगत खर्च घटेर विकास कसरी बढ्छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “जसरी यो सरकार बन्दाखेरी अर्थमन्त्रीले बढो उत्साहित भएर पूर्ववर्ती सरकारले ऋणैऋणमा नेपाल पारेको थियो हामीले तपाईलाई सबैलाई घ्यु खुवाउँछौ भनेर श्वेतपत्र निकाल्नु भएको थियो नि । ह्वाइट पेपर निकाल्नुभएको थियो नि, याद होला नि । त्यो ह्वाइट पेपरमा चाँही छलफल गर्नुपर्‍यो । श्वेतपत्र भन्ने, यथार्थ पत्र भनेर जारी गर्ने अगाडि अ थपेर अयथार्थ बनाउने ? म त्यत्तिखेर पनि श्वेतपत्र पनि ल्याओस् सरकारले अनि अहिलेको श्वेतपत्र पनि जारी गरोस् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्