नेता मात्रै होइन कार्यकर्ता पनि ओलीप्रति यस्तो आक्रोशित (भिडियो रिपोर्टसहित)
४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका नेपाल–खनाल समूहको राष्ट्रिय भेलामा सहभागी नेता मात्रै होइन कार्यकर्ता पनि आक्रोशित छन् । सहभागीका कुरा सुन्दा एमाले अब औपचारिक रुपमा फुट्न मात्र बाँकी छ । गुटको भेलामा सहभागीले भने यी सबै एकताकै पक्षमा भइरहेको दाबी भने गरिरहेका छन् ।
दुई दिने भेलामा शीर्ष नेता मात्र हैन जिल्ला तहका नेता पनि अध्यक्ष केपी शर्मा ओली र उहाँको गुटविरुद्ध आक्रामक देखिएका छन् । शीर्ष नेताले मञ्चबाटै केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनु नै भुल भएको भन्न भ्याए ।
शीर्ष नेताको भनाइमा ताली बजाएका नेता तथा कार्यकर्ता यसलाई एकता कै भेलाको रुपमा दावी गर्छन् । यो भेला केन्द्रीय कमिटीको निर्णयले भएको भन्दै यसले पार्टी नफुटाउने तर ओलीले सरकारी निवास बालुवाटारमा गर्ने भेलाले मात्र पार्टी फुटाउने उनीहरुको दाबी छ ।
पार्टीको केन्द्रीय समितिमा रहेका नेताहरु पनि एमालेको यो स्थिति आउनुमा ओलीलाई जिम्मेवार ठान्छन् । ओलीले आफूलाई बा भन्ने बाहेक अरुलाई कार्यकर्ता नै नमानेका कारण यो स्थिति आएको उनीहरुको आरोप छ ।
उनीहरु ओलीले कम्युनिष्ट आन्दोलनलाई नै विसर्जनको आवस्थामा पुर्याएको आरोप लगाउँछन् । कारवाहीको चेतावनीलाई उनीहरु गुटले गर्ने कारवाहीले केही नहुने भन्दै प्रतिवाद गर्छन् ।
ओलीप्रति आक्रोश पोख्नेमा उहाँकै गृह जिल्ला झापाका एमाले कार्यकर्ता पनि छन् । चुनावमा झापामा एमालेले राप्रपासँग गरेको चुनावी गठबन्धनलाई देखाएर पद जोगाउनओली जुनसुकै हदमा पनी पुग्ने दाबी गर्छन् ।
अहिलेकै स्थितिमा चुनावमा जाने हो भने एमालेले सफलता नपाउँने उनीहरुमा चिन्ता पनि छ ।
नेपाल समूहले यसलाई एकताको भेला भनेको छ । सहभागी पनि भेलाले पार्टी एक हुने ठोकुवा गर्छन् । तर उनीहरुको भनाइ सत्य सावित हुने कुनै लक्षण छैन । केन्द्रीय नेता देखि जिल्ला तहका नेताले अध्यक्ष ओलीप्रति पोखेको आक्रोश हेर्दा एमालेमा मिलनविन्दु टाढा रहेको प्रष्ट देखिन्छ ।
प्रतिक्रिया