राजनीति

पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय कार्यकर्ता भेला गरेको नेता नेपालको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते १६:३५
पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय कार्यकर्ता भेला गरेको नेता नेपालको दाबी (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभएको छ ।

आज नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समूहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंश गर्नका लागि नभई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेला गरिएको बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनको रक्षा गरेर नयाँ उचाइमा पु¥याउनका लागि रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो –‘हामीले जुन बाटो समातेका छौँ । जुन हिसाबले अगाडी बढ्न खोजिरहेका छौँ । त्यो ध्वंश गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिष्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनका लागि हो । त्यसो हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’

नेता नेपालले नेकपा(एमाले) भित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली भएको दाबी गर्नुभयो । केपी ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भए पनि जबजको हिमायतीको रुपमा प्रस्तुत गरिरहेको उहाँले बताउनुभयो । ओलीले मदन भण्डारीको विरासत बोकेको भनि नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना, उहाँमा रहेको मूल पक्ष इमान्दार कार्यकर्ता उहाँलाई चाहिएको छैन । उहाँलाई आलोचना मन पर्दैन । उहाँलाई सुझाव मन पर्दैन । त्यसो हुनाले यि सबै चिजले समस्या खडा ग¥यो । हामीले भनेको कुरा के हो भने, पार्टी एकतालाई तपाईले स्वार्थसिद्धीको साधन बनाउनुभयो, त्यो काम नगर्नुस् । पार्टी र कार्यदिशाको उल्लंघन गर्ने काम गर्नुभयो, त्यो पनि काम नगर्नुस् । जबजले तपाईले थातिमा राख्नुभयो । जबज सिध्याउने काम तपाईले गर्नुभयो । तपाईले समाजवाद उन्मुख जनताको जनवाद मान्नुभयो तर जनताको बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनुभएन । खुसुक्क हटाउनुभयो । अनि हामीलाई तपाईले त्यो थोपर्ने काम गर्नुभो । आज तपाई जनताको बहुदलीय जनवादको बडो हिमायती भएर आफुलाई प्रस्तुत गर्नुहुन्छ । तपाई आज आएर मदन भण्डारीको विरासत हामीले थामेका छौँ भनेर नक्कली कुरा गर्न खोज्नुभाछ । यस्ता भ्रममा तपाइहरु कोही नपर्नु होला ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीहरुको सेवा मात्रै गरेको आरोप पनि लगाउनुभयो । ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको पनि उहाँको भनाइ छ । ओलीमा नेकपा(एमाले)को नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि शुरु देखिँनै गुटगत प्रवृत्ति मात्रै भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘विधि, पद्धतिको सधैँ उल्लंघन गर्नुभयो । संगठनात्मक सिद्धान्तको सधै उल्लंघन गर्नुभयो । पार्टीको निर्णय र सहमतिको पालना गर्नुभएन । त्यसको उल्लंघन गर्नुभयो । सहमतिको सधैँ रटान लगाउने तर स्वेच्छाचारी व्यवहार गर्दै आउनुभयो । अनि जबजको नारा लगाउँदै निरंकुश प्रवृत्ति देखाउनुभयो । र जबजको कुरा गर्ने, राष्ट्रिय पूँजीको विकासको गफ चाहिँ गर्ने, तर दलाल पूँजीवादको सेवा गर्नुभयो । विदेशी तत्वको सेवा मात्रै गर्नुभयो । पार्टीको लोकप्रियता कामलाई आफ्नो एकल लोकप्रियता र बहादुरीको रुपमा बुझ्नुभयो । आफ्नो गल्तीको दोष अरुलाई थोपर्ने सधैँभरी प्रयास गर्नुभयो । सधैभरी पूर्वाग्रही एवम् पक्षपातपूर्ण व्यवहार गर्नुभयो । र असहमतप्रति निषेधात्मक व्यवहार गर्नुभयो । तपाई एकताको कहिल्यै पनि पक्षपाती हुनुभएन । झुठ र अपव्याख्याको खेती गर्नुभयो सधैँभरी । एकअर्कालाई नेताहरुलाई लडाउने भिडाउने काममा एकअर्कामा भ्रम पैदा गराउने काममा यही काममा जुटिरहनुभयो । सरकारी ओहोदा र स्रोत साधनको चरम दुरुपयोग गर्नुभयो । प्रधानमन्त्रीको कुर्सी बचाउनका लागि संविधानलाई नै उहाँले अपव्याख्या गर्नुभयो र त्यसलाई समाप्त पार्ने कोशिस गर्नुभयो । पार्टी निर्णय र सहमति भएकाहरुको पनि विपरीत काम गर्न थाल्नुभयो । यस अर्थमा उहाँमा शुरुदेखि गुट सञ्चालन गर्ने गुटगत प्रवृत्ति भयो । उहाँमा समाजवादको गन्तव्यमा जाने कुनै चिन्तन देखिदैन ।’

नेता नेपालले आफुहरुको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको लडाइँ भएको जिकिर गर्नुभयो । आफुहरुको लडाइँ कस्तो पार्टी बनाउने भन्ने विषयमा रहेको भन्दै इमान्दारिताको अग्निपरिक्षा उत्तीर्ण गर्न तयार रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो लडाइँ पदको लडाइ होइन । यो सिद्धान्तको लडाइ हो । यो नीतिको लडाइँ हो । यो विधिको लडाइँ हो । यो पार्टी निर्माणसँग जोडिएको लडाइँ हो । कस्तो पार्टी निर्माण गर्ने विषयसँग जोडिएको लडाइँ हो । त्यसो हुनाले विचारसँग जोडिएको छ । उद्देश्यसँग जोडिएको छ । लक्ष्यसँग जोडिएको छ । यो इमान्दारीसँग पनि जोडिएको छ । यो आन्दोलनको निष्ठासँग पनि जोडिएको छ । यि सबैसँग जोडिएको हुनाले यसको अग्नि परीक्षा हुनेछ । त्यो अग्निपरीक्षामा उत्तीर्ण हुन हामी तयार छौँ । अरुलाई पनि चुनौति दिन्छौँ यदि कम्युनिष्ट आन्दोलन अगाडी बढाउन चाहनुहुन्छ भने बताउनोस् कम्युनिष्ट आन्दोलन कसरी अगाडी बढ्छ ?’

प्रधानमन्त्री ओलीले आधा आधा समय सरकार चलाउन माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर सहमतिको उल्लंघन गरेको नेता नेपालको भनाइ छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा(एमाले)लाई पूर्ववत् संगठनात्मक संरचना र वैचारिक, राजनीतिक मान्यता अनुरुप चलाउनुपर्नेमा नेता नेपालको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्