देशभरका स्थानीय तहको केन्द्रसम्म सडक कालोपत्रे गर्ने योजना शुरुवात

१ चैत २०७७ काठमाडौं । सरकारले देशभरका स्थानीय तहको केन्द्रसम्म सडक कालोपत्रे गर्ने योजना शुरुवात गरेको छ।
सरकारले सबै स्थानीय तहका केन्द्रलाई प्रादेशिक राजधानी र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि सारेको हो । यसका लागि संघीय सरकारले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुरु गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल कार्यक्रममार्फत एकैपटक २ सय १० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माण शुरुवात गर्नुभयो । चालु आर्थिक वर्षमा यो आयोजनाका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
सरकारले यसलाई गेमचेन्जर आयोजना भनेको छ । यो आयोजना कार्यान्वयनका निम्ति मन्त्रिपरिषदबाट स्वीकृत कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणमा संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन्।
यसैगरी, १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाइ भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन्।
२० किलोमिटरभन्दा लामा सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन्।
कार्यक्रममको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकासका कामलाई तीव्रता दिइरहेको बताउनुभयो । दीगो विकासलाई दृढताका साथ अगाडि बढाएको प्रधानमन्त्री ओलीको दावी छ ।
प्रतिक्रिया