राजनीति

सकसमा माधव नेपाल : प्रधानमन्त्री निकटबाटै यस्तो आक्रमण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २५ गते २०:३३
सकसमा माधव नेपाल : प्रधानमन्त्री निकटबाटै यस्तो आक्रमण (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ काठमाडौं । पछिल्लो पटक देखिएका राजनीतिक घटनाक्रमबाट सबैभन्दा ठुलो धक्का एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध तोडेर पुष्पकमल दाहाल प्रचण्डसँग सम्मानजनक सहकार्य गरेका नेपाल अन्तत पुरानै पार्टीमा रहनुपर्ने बाध्यता भएको छ । एमालेमै रहेर संघर्ष गर्ने बताएका नेपाल र उहाँ समर्थकलाई सजिलो भने छैन । किनकी नेपाल समूहमाथि अहिलेदेखि नै आक्रमण शुरु भइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेलगत्तै प्रचण्ड–नेपाल समूहले व्यवहारिक रुपमा नै दल विभाजन गरेर काम अघि बढायो । ओली र प्रचण्ड–नेपाल दुवै समूहबीच शक्ति प्रदर्शनको होड नै चल्यो ।

यी समूहका शीर्ष नेता मात्र नभइ सामान्य कार्यकर्ता पनि एकअर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिए । तर नेकपाको नाम सम्बन्धी मुद्दाको फैसलाका क्रममा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युताउँने फैसला सुनायो । यो फैसलापछि नेपाल समूह प्रचण्डसँगको सहकार्य छाडेर नेकपा एमालेमै ओलीविरुद्ध संघर्ष गर्ने निर्णयमा पुगेको छ ।

एमाले छाड्दा नेपालसहित उहाँको समूहमा रहेका तलदेखि माथिसम्मका जनप्रतिनिधिको पद जोखिममा हुनेछ । सबैलाई मनाउनु तत्कालका लागि संभव नहुने भएपछि नेपाल समूहलाई पार्टीमै बसेर संघर्ष गर्नुको विकल्प भएन । तर अब एमालेमा नेपाल समूहलाई पहिलाजस्तो सहज देखिदैन ।

आफ्नै दलको सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन खोजेको, प्रचण्डसँग मिलेर ओली र उहाँको समूहमाथि वाक आक्रमण गरेको जस्ता विषय उठाउँदै नेपालमाथि आक्रमण शुरु भइसकेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले त अब नेपाल लगायतका नेताले सन्यास नै लिनुपर्ने बताउनु भएको छ ।

प्रचण्डसँग अन्य पक्षमा छलफलमा रहँदै एमालेमै बस्दा अब नेपाल समूहले ठुलै संघर्ष गर्नुपर्ने देखन्छ । किनकी नेपाल समूहप्रति ओली समूहका नेता कार्यकर्ताको आक्रोश छ । अब पार्टीमा अध्यक्ष ओलीविरुद्ध कुनै कदम चाले नेपाल पक्ष कारबाहीमा पर्ने ओली समूहको चेतावनी छ ।

ओली पक्षका विगतका र अहिलेका प्रतिक्रिया सुन्दा पनि एमालेमा सहज छैन भन्नेमा नेपाल पक्ष स्पष्ट छ । तर नेकपा एमाले कसैको विर्ता नभएको र त्यसमा आफुहरुको पनि ओलीकै जति लगानी रहेको नेपाल समूहको तर्क छ ।

सर्वोच्च अदालतको फैसलापछि समस्यामा परे पनि नेपाल समूह नेकपा एमालेमा कमजोर भने छैन । १५ जना पदाधिकारीमा ९ जना नेपाल समूहकै छन् । स्थायी र केन्द्रीय कमिटीमा पनि नेपाल समूहको बलियो उपस्थिति छ ।

जनप्रतिनिधिमा पनि तलदेखि माथिसम्म उल्लेख्य छन् । अब यो शक्तिलाई कायम राख्दै एमालेमा थप शक्ति आर्जन गर्ने नेपाल समूहको योजना छ । तर अर्को पक्षका चिढिएका नेता कार्यकर्तासँगको संघर्ष उसका लागि सजिलो भने हुनेछैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्