Main News

संघीय संसद अधिवेशन भोलि शुरु हुँदै, यस्ता छन् दलहरुको आआफ्नै दाउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १९:१४
संघीय संसद अधिवेशन भोलि शुरु हुँदै, यस्ता छन् दलहरुको आआफ्नै दाउ (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन भोलि शुरु हुँदैछ । राजनीतिक गतिरोधका कारण अधिवेशन विधेयकभन्दा बढी सत्ता समीकरणमा केन्द्रीत हुने देखिएको छ ।

अधिवेशनअघि विशेषगरी नेकपाका दुबै समूह सत्ताको जोड घटाउमा व्यस्त छन् । प्रचण्ड–नेपाल समूहले भोलिको बैठकअघि नै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको छ ।

यसअघि नै दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन सभामुख तयार भए अर्को प्रस्ताव नलैजाने उसको भनाइ छ । यदि पुरानो प्रस्ताव अघि नबढे नयाँ प्रस्ताव लैजाने गरी तयारी भइरहेको प्रचण्ड–नेपाल समूहका नेताले बताएका छन् ।

सकेसम्म कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर संयुक्त रुपमा प्रस्ताव लैजाने उसको तयारी छ । तर कांग्रेसले भने संयुक्त प्रस्ताव लैजान अहिलेसम्म सहमति जनाइसकेको छैन । कांग्रेस नेताहरुले संयुक्त प्रस्तावमा सहमति नजनाए पनि प्रचण्ड(नेपाल समूहलाई सहयोग गर्ने आश्वासन दिएको एक नेताको दाबी छ । तर भोलि दिउँसो सम्म संयुक्त प्रस्ताव बनाउन प्रयास गर्ने उनको भनाइ छ ।

यता अविश्वास प्रस्ताव आए कसरी सामना गर्ने भन्नेमा ओली समूहले पनि आन्तरिक तयारी गरिरहेको छ । उसले आज संसदीय दलको बैठक बोलाएर आफ्ना सांसदलाई प्रस्तावको सामना गर्नेगरी अघि बढ्न निर्देशनसमेत दिएको छ ।

सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नेदेखि अविश्वास प्रस्ताव नआए भोली नै अधिवेशन अन्त्य गर्नेसम्मको तयारी भइरहेको हल्ला पनि चलाइएको छ ।

महाभियोग प्रस्ताव आए सभामुख निलम्वन हुने र जेष्ठ सदस्यले बैठक चलाउनुपर्नेछ । तर प्रस्ताव दर्ता गरेर मात्र नहुने र बैठकमा टेबल हुनुपर्ने भएकाले ओली समूहले त्यस्तो जोखिम नमोल्ने प्रचण्ड–नेपाल समूहको आंकलन छ ।

प्रतिनिधिसभामा सभामुख सबैभन्दा शक्तिशाली हुने भएकाले बैठक कसरी अघि बढ्छ भनेर अहिले नै आंकलन गर्न कठिन देखिएको छ । सभामुख अग्नी सापकोटाले यसअघि दर्ता भएको अविश्वास प्रस्ताव के गर्ने भनेर कानूनी परामर्श गरिरहनुभएको छ । भोलिसम्म त्यसबारे निर्णय हुने संभावना छ । सत्तारुढ नेकपा दुई चिरामा बाँडिए पनि संसदमाभने दुबै समूहलाई सत्तापक्षकै बेन्चमा बस्ने गरी व्यवस्था मिलाइएको छ ।

नेकपा कानूनी रुपमा विभाजन नभएकाले सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नु पर्ने भएको हो । कोरोना महामारीको कारण देखाउँदै यसअघि बजेट अधिवेशन छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन लामो समय नचल्दा सङ्घीय संसदमा विधेयकको चाप छ ।

सङ्घीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १ सय २८ विधेयक दर्ता भएका छन् । ति मध्ये दुवै सदनबाट पारित भई ६९ वटा विधेयक मात्रै ऐन बनेका छन् ।

सङ्घीय संसद्का दुवै सदनमा गरी आठवटा सन्धि तथा सम्झौता विचाराधीन छन् । तर यो पटक अधिवेशन विधेयकमा भन्दा भावी सत्ता समीकरणमा केन्द्रीत हुने देखिएको छ । बैठक भोलि अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *