राजनीति

प्रचण्डले दिए ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहिएको अण्डा” को संज्ञा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १६:२४
प्रचण्डले दिए ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहिएको अण्डा” को संज्ञा (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहिएको अण्डा”को संज्ञा दिनुभएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जाने बताउनुभएको हो । कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भए पनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने स्पष्ट पार्नुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलनभित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताउनुभयो । माओले बिग्रिएका कम्युनिष्टलाई कुहिएको अण्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली पनि “कुहिएको अण्डा” भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “एकपटक माओ त्से–तुंगले बिग्रेका कम्युनिष्टका बारेमा भन्दा भन्नुभएको थियो । अण्डा स्वास्थ्यका लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले र कुहियो भने त्योभन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहिएको अण्डा हो । कुहिएको गन्हाएको अण्डालाई खाइँदैन नि । त्यसलाई गाडिन्छ या जलाइन्छ । तपाई हामी चाहिँ स्वस्थ्यवर्द्धक जीवनशील तत्व हो । ”

प्रतिनिधिसभा विघटन भएको दिन आफुले प्रतिक्रान्तिको षड्यन्त्रविरुद्ध जनयुद्ध शुरु भएको भनेको स्मरण गर्दै उहाँले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “मैले प्रतिक्रान्तिको षड्यन्त्रविरुद्ध शान्तिपूर्ण रुपले नयाँ जनयुद्ध शुरु भयो भनेको थिएँ । जनयुद्धमा सर्वोच्चको फैसलापछि तपाई हामी सबै विजयी भएको अवस्था हो । ”

उहाँले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै उहाँले अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेत्रविक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुँदै उहाँलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभयो ।

उहाँले “विप्लव जी पनि (उहाँ) अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यस अर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनैपर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलग्गिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाई यहाँ हुनुहुनेछ भनेको थिएँ । एउटा कालखण्डमा एउटै मात्र प्रचण्ड हुन्छ । दुईवटा पात्र एकैचोटी हुँदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुँदैन भनेकै थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । ”

अर्का अध्यक्ष माधव कुमार नेपालले आफुहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “केपी ओलीलाई पनि हामी अन्तिम मौका दिइरहेका छौ । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भए पनि देखाउनुहोस् । नभए इतिहासमा तपाई सधैभरी कलंकित मात्रै हुनुहुनेछ । धेरै फुर्ति नदेखाउनुहोस् । तपाईका फुर्ति देखाउने दिन गए । ”

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुराएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुराउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “कम्युनिष्ट विचार बोक्नेहरु प्रतिगमनमा पनि लाग्दारहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनुभएको छ । विगतमा पनि कम्युनिष्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विसर्जन भएर गएका छन् । यो नौलो कुरा होइन । त्यसबाट हामी निरास हुँदैनौ । केपी ओलीको कदमविरुद्ध सिंगो देश नै आन्दोलित, तरंगित भयो । यो पार्टी मात्रै होइन संसदमा भएका राजनीतिक दलहरु पनि आन्दोलनमा उत्रिए । ”

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उहाँले उल्लेख गर्नुभयो । पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “अत्यन्तै गलत प्रवृति बोकेका केपी ओली पार्टीको अध्यक्षबाट निष्कासित भइसकेपछि पनि, पार्टी सदस्यबाट हटिसकेपछि पनि अटेर भएर अझै पनि कुनै नैतिकता नराखेर ,सर्वोच्चको फैसलापछि पराजित भइसकेपछि पनि पदमा टाँसिएर बसेको देख्दा सारा दुनियाँ आश्चर्य चकित छन् । कस्ता सन्तान नेपाली आमाले जन्माएछन् भनेर । ”

उहाँले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफुहरुप्रति कर्केनजर नलगाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “कसैले पनि कर्के आँखा नदेखाए हुन्छ । मुल पार्टी यही हो । सूर्य चिन्ह यही पार्टीको हो । कसैले खोसेर लान सक्दैन । केपी ओलीसँग अझै पनि अलमलिएएर बसेका मान्छेहरुलाई भ्रमबाट मुक्त भई मुल पार्टीमा समाहित हुन आग्रह गर्दछु ।”

नेत्रविक्रम चन्द विप्लब राजनीतिको मूल प्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले आफुहरु कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताउनुभयो ।

कार्यक्रममा पदम राई र विमल अधिकारीको नेतृत्वमा युवाहरुलाई पार्टी प्रवेश गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्