आर्थिक

सरकारी दाबी लतार्दै खस्कँदो अर्थतन्त्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २१ गते ६:२४
सरकारी दाबी लतार्दै खस्कँदो अर्थतन्त्र (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । सरकारले विकासमा फड्को मारिरहेको बताइरहँदा अर्थतन्त्रको अवस्थाबारे आएको पछिल्लो तथ्यांक भने ठिक उल्टो देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष आर्थिक वृद्धिदर सुन्य मात्रै होइन कि त्यो भन्दा पनि तल ऋणात्मक भएको छ । सरकारले कोरोना महामारीले अर्थतन्त्रमा असर गरेको बताएको छ । तर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पनि अवस्था नाजुक नै छ ।

सरकारले गत आर्थिक वर्ष बजेट भाषणमा ८‍ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर कोरोना महामारी शुरु भएपछि अर्थतन्त्र ठप्प भयो । पछि सरकारले लक्ष्य संशोधन गरेर २ दशमलव ८ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गर्यामे । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार सरकारको संशोधित लक्ष्य पनि पुरा हुन सकेन । बरु अर्थतन्त्र १ दशमलव ९९ प्रतिशतले माइनसमा जाने देखियो ।

सरकारले यसो हुनुमा मुख्यत कोरोना महामारीलाई नै कारण देखाएको छ । तथ्याङ्क विभागका अनुसार गत आर्थिक वर्षको ४ महिनामा सरकारले गरेको लकडाउनका कारण होटल तथा रेष्टुरेन्टमा २५ प्रतिशत र यातायात क्षेत्रमा १३ प्रतिशत ऋणात्मक असर देखिएको छ । यो बीचमा पनि सरकारले आर्थिक वृद्धिदर नकारात्मक नै हुने अनुमान गरेको थिएन । अन्तरराष्ट्रिय निकायले पनि नेपालको अर्थतन्त्र कम अंकले भए पनि सकारात्मक नै हुने प्रक्षेपण गरेका थिए । तर पछिल्लो तथ्यांकले कोरोनाबाट अर्थतन्त्रमा सोंचे भन्दा बढी असर परेको देखिएको छ । यो क्रम चालु आर्थिक वर्षमा पनि कायमै छ ।

तथ्यांक अनुसार कोरोना महामारीका कारण भएको क्षति २०७२ सालको महाभूकम्पको भन्दा पनि बढी देखिएको छ । तथ्यांक विभागले पनि यसो हुनुको मुख्य कारण कोरोना महामारी नै भएको जनाएको छ ।

चालु वर्षको पहिलो तीन महिनामा समस्या देखिए पनि अहिले अर्थतन्त्र सुधारोन्मुख रहेको सरकारी निकायको दाबी छ । राष्ट्रिय योजना आयोगका अधिकारी अब अर्थतन्त्रले गति लिने विश्वासमा छन् ।

गत वर्ष नेपालीको वार्षिक प्रतिव्यक्ति आय पनि घटेको छ । गत वर्ष ११ सय उनान्साठी रहेको प्रतिव्यक्ति आय २५ अमेरिकी डलरले घटेर ११ सय चौंतिस मात्रै भएको छ । कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार पछिल्ला १० वर्षमा १४ दशमलव ७ प्रतिशतले बढेको छ ।

अर्थतन्त्रको आकार यो वर्षको अन्त्यसम्म ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । कोरोना महामारीको सबैभन्दा ठुलो असर मनोरन्जन तथा अन्य क्रियाकलापमा परेको छ । यस्तै आवास तथा भोजन, यातायात तथा भण्डार क्षेत्रमा पनि ठुलो गिरावट देखिएको छ । सरकारले पछिल्लो पटक अर्थतन्त्र निकै मजवुत भएको दाबी गरिरहेको छ । तर तथ्यांकले भने त्यो दाबी हावादारी भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *