राजनीति

के विप्लवले भोलि यी प्रश्नको जवाफ देलान् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २० गते २०:५६
के विप्लवले भोलि यी प्रश्नको जवाफ देलान् ? (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव झण्डै तीन वर्षपछि भोलि भूमिगत जीवन छोडेर सार्वजनिक हुँदै हुनुहुन्छ । शान्तिपूर्ण राजनीति गर्ने सरकारसँगको सहमतिपछि विप्लव सार्वजनिक हुन लाग्नुभएको हो । तर सार्वजनिक समारोहबाट विप्लवले हिंसात्मक राजनीति, हतियार र संसदीय राजनीति लगायतका विषयमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्नेछ ।

१. विप्लव नेकपाले हिंसा छोडेको हो ?
सरकारसँग सहमति गरेर भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मञ्च शेयर गरेर सार्वजनिक हुन लाग्दा नेकपाका महासचिव विप्लवले जवाफ दिनुपर्ने पहिलो प्रश्न हो –के नेकपाले हिंसा छोडेको हो रु किन कि संसदीय व्यवस्था फाल्न हिंडेको विप्लव नेकपाले हिंसात्मक गतिविधि गरिरहेको थियो । मान्छेको ज्यानै लिने काम समेत उसले गरेको थियो ।

सुनसरीका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या त्यसको पछिल्लो उदाहरण हो । ठाउँ ठाउँमा यो समूहले गराएको र भएको बम विष्फोटमा समेत नागरिकको ज्यान गएको छ । त्यसैले सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आउँदा विप्लवले हिंसा छोडेको हो कि होईन भन्ने जवाफ दिनुपर्नेछ ।

२. जनसेना र हतियार के हुने भयो ?
नेकपाका महासचिव नेत्रविक्रम चन्दले छापा अन्तर्वातामा मात्रै होईन, भिडियो अन्तर्वातामा समेत आफ्नो पार्टीसँग जनसेना र हतियार रहेको पटक पटक बताउँदै आउनुभएको छ । जनमुक्ति सेना र हतियार व्यवस्था बदल्नकै लागि भएको उहाँको तर्क छ । ठाउँ ठाउँमा गराईएका बम विष्फोट र बरामद हतियारले समेत विप्लव नेकपासँग हतियार भएको पुष्टि हुन्छ ।

कतिपय ठाउँमा एके फोर्टी सेभेन समेत फेला परेको थियो । त्यसैले विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आउँदा ती हतियारका बारेमा के हुने भयो भन्ने गम्भीर चासो र चिन्ता छ, किनकी शान्तिपूर्ण राजनीति गर्ने पार्टीसँग हतियार हुनुलाई स्वाभाविक मान्न सकिन्न । त्यसैले नेकपाका महासचिव विप्लवले हतियार र जनसेनाका बारेमा पनि जवाफ दिनुपर्नेछ । किनकी उहाँको पार्टी शान्तिपूर्ण राजनीतिमा सक्रिय हुँदा पनि नागरिकले हतियार रहेको पार्टीका रुपमा बुझ्नेछन ।

३. संसदीय व्यवस्था स्वीकार गरेको हो ?
विप्लव नेकपाले अहिलेको संसदीय व्यवस्थालाई दलाल पूँजिवादी संसदीय व्यवस्था भनेको छ र यसलाई फालेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्नेमा जोड दिँदै आएको छ । यो व्यवस्थाबाट राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दा समाधान हुनै नसक्ने उसको ठहर थियो ।

अहिले शान्तिपूर्ण राजनीतिमा आउने सरकारसँगको सहमतिलाई लिएर कतिपयले विप्लव नेकपामाथि यो व्यवस्था स्वीकार गरेको हो भनेर प्रश्न उठाएका छन । संभवत नेकपाका महासचिव विप्लवले यो प्रश्नको जवाफ पनि दिनुपर्नेछ र दिनुहुनेछ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्