प्रधानमन्त्री ओलीले आज झापामा दर्जनौं योजना उद्घाटन र शिलान्यास गर्दै

१६ फागुन २०७७ काठमाडौं । दर्जनौं उद्घाटन् र शिल्यान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि ओली पहिलो पटक झापा जान लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रममा छ। औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको छ।
पार्कको शिलान्यास गर्न ओली जाने भएपछि उहाँको स्वागतका लागि ठाउँठाउँमा स्वागत गेट र कार्यक्रम स्थलमा विद्युत् सेवा र इन्टरनेट व्यवस्थापन गरिएको पार्क निर्माण समितिका अध्यक्ष गोविन्द थापाले बताउनुभयो ।
६३ अर्ब २१ करोड रुपैयाँको लागतमा बन्ने औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ। पार्क चिनियाँ सहयोगमा निर्माण हुन लागेको हो।
यो परियोजना २२ सय बिघा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको अध्यक्ष थापाले बताउनुभयो ।
त्यसैगरी प्रधानमन्त्री ओलीले दमक नगरपालिका १ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल, सुनसरीको चतारादेखि झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने झण्डै तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ।
त्यस्तै‚ मावा खोलाको पुल र रतुवा खोलामा निर्माण भएको गौरादहको बालुवथान जोडने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
बिहान १० बजे भद्रपुर ओर्लेर विभिन्न कार्यक्रममा सहभागी हुन दमक प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री आजै काठमाडौँ फर्कनुहुनेछ ।
प्रतिक्रिया