भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि
२६ माघ २०७७ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्ट भूमिकाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको छ ।
जिल्ला अस्पताल बैतडीमा भएको पोस्टमार्टमबाट भट्टको बलात्कार भएको र घाँटी थिचेका कारण मृत्यु भएको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले जानकारी दिनुभयो ।
डीआईजी सुवेदीले सामूहिक बलात्कार हो वा होइन भन्नेबारेमा थप परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँले घटनास्थलमा प्राप्त भएका सबै तथ्यसहित भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी दिनुभयो ।
भागरथी हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि संवेदनशीलता देखाउँदै सुवेदीलाई अपराधस्थलको निरीक्षण र अनुसन्धानको सुपरिवेक्षणका लागि बैतडी पठाएको थियो ।
बिहीबारदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली पनि घटनाको प्राविधिक पक्षको विश्लेषणमा खटिएको छ । गएको बुधबार विद्यालयबाट फर्किने क्रममा हराएकी भागरथीको शव बिहीबार जंगलमा फेला परेको थियो ।
प्रतिक्रिया