राजनीति

प्रदेश १ को सदनमा ओली समूहको अवराेध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २५ गते २०:५२
प्रदेश १ को सदनमा ओली समूहको अवराेध (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ विराटनगर । सत्तारुढ नेकपाको ओली समूहले प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत हुने भएपछि सत्तारुढ दलकै सांसदले बैठक चल्न नदिएका हुन् । बैठक कार्यसूचीमै प्रवेश नगरी फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसदको प्रतिनिधिसभा विघटन गरेर रमाइरहेको ओली समूहले प्रदेश सभा पनि आफू अनुकुल नभए चल्न नदिने दिशातिर गएको छ ।

दृश्य देख्दा तपाईंलाई लाग्यो होला, सदन प्रतिपक्षी दलका सांसदले चल्न दिएनन् । तर होइन, प्रदेश १ को सत्तारुढ नेकपा ओली समूहका सांसदले बैठकमा अवरोध गरेका हुन् । कार्यव्यवस्था परामर्श समितिमा लामो रस्साकस्सीपछि बल्लतल्ल मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भयो । तर विपक्षी मानिने संसदमा सत्तापक्षनै अवरोधमा उत्रियो । अविश्वास प्रस्ताव पेश हुने डरले मुख्यमन्त्री राई समूहका सांसदले बैठक चल्न दिएनन । र, बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो ।

प्रदेशका मुख्यमन्त्री रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष शेरधन राईविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका ४२ सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। तीमध्येका १६ जनालाई मुख्यमन्त्री राईले तीन महिनका लागि निलम्बन गर्नुभएको छ । कारवाही गरिएका १६ जना संसदमा रहेसम्म बैठक चल्नै नदिने ओली समूहको अडान छ ।

अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा प्रचण्ड–नेपाल समूहले पनि मुख्यमन्त्री राईलाई कारवाही गरेर भीम आचार्यलाई संसदीय दलको नेता बनाएको छ । यो समूह संसद बैठक चलाएर तत्काल अविश्वास प्रस्ताव टुङ्गो लगाउनु पर्ने पक्षमा छ । तर यसका लागि सभामुखले भूमिका खेल्न नसकेका भन्दै उसले असन्तुष्टि जनाएको छ ।

केन्द्रको राजनीतिमा जस्तै प्रदेश सभाको विवादमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रष्ट भूमिकामा छैन । प्रदेशमा सभामा पनि कांग्रेसको दुई लाइन छ । एक पक्ष मुख्यमन्त्री राईप्रति नरम देखिएको छ भने अर्को पक्ष अविश्वासको प्रस्तावका पक्षमा देखिएको छ । तर सभामुख भण्डारी र सरकारबीचको अवैध साँठगाँठ र सेटिङका कारण सदन बन्धक बनेको कांग्रेसको निष्कर्ष छ ।

संघमा प्रतिनिधिसभा विघटन गरेर रमाइरहेको ओली समूहले आफू अनुकुल नहुने भएपछि प्रदेश सभालाई पनि अघि बढ्न नदिने संकेत गरेको छ । आइतबार प्रदेश १ को सभामा भएको अवरोध संभवत त्यसैको संकेत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्