राजनीति

मांशाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिदिने गृहमन्त्री थापाको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २३ गते १६:२४
मांशाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिदिने गृहमन्त्री थापाको चेतावनी (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका सचिवालय सदस्य रामबहादुर थापाले मांशाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जु मा (चिडियाखाना) लगेर बन्द गरिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले काठमाडौँमा गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै मांशाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जु मा (चिडियाखाना) लगेर बन्द गरिने बताउनुभएको हो । उहाँले मांशाहारी आन्दोलन गरेर मांशाहारी तरिकाद्वारा नेतृत्वलाई अपदस्त गर्ने घोषणा गर्दै हिडिरहेको भन्दै मांशाहारी आन्दोलन गर्नेलाई संविधान र कानूनले अपराध घोषित गरेको पनि बताउनुभयो ।

केही दिन पहिला अध्यक्ष प्रचण्डले नेकपाका युवाहरुलाई सम्बोधन गर्दै प्रतिगमनविरुद्धको आन्दोलनलाई सशक्त बनाउन मांशाहारी आन्दोलन आवश्यक रहेको बताउनुभएको थियो । गृहमन्त्री थापाले प्रतिगामी र अवसरवादी तत्वहरुले नेतृत्वलाई अपदस्त गर्नका निम्ति सबै प्रकारको षडयन्त्र र भ्रमहरुको साहारा लिइरहेको आरोपसमेत लगाउनुभयो ।

उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तालमा भएको क्षतिको सरकारले क्षतिपुर्ति गर्ने बताउनुभएको छ ।

जनसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले बिहीबारको आम हड्तालमा भएको क्षतिको क्षतिपुर्ति सरकारले दिने बताउनुभएको हो । काठमाडौँमा तोडफोड भएको ट्याक्सीको क्षतिपुर्ति सरकारले दिने उहाँको भनाइ छ । उहाँले जनतालाई दुख दिने, लुट्ने लगायतको क्षतिको पनि सरकारले क्षतिपुर्ति दिने पनि बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले आफुहरुको लडाइँ अराजकताविरुद्ध भएको बताउनुभयो । आफुहरु मुलुकलाई आर्थिक समृद्धितर्फ जान नचाहनेहरुविरुद्ध, मुलुकलाई अस्थिरतातर्फ लैजाने दुस्प्रयासविरुद्ध लडाइँ लडिरहेकाले लडाइँलाई कमजोर हुन नदिने उहाँको भनाइ छ । उपप्रधानमन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आधिकारिकता आफुहरुले पाउने दाबी गर्नुभयो । केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न नसक्ने उहाँको भनाइ छ । सुर्य चिन्ह ओलीले नेतृत्व गरेको नेकपाले प्राप्त र सुर्य चिन्ह लिएर जनताको ताजा जनमतमा जाने पनि उहाँको भनाई छ ।

उपप्रधानमन्त्री पोखरेलले आजको ठाउँमा आइपुग्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विगतदेखिकै अवसरवाद जिम्मेवार रहेको बताउनुभयो । जतिसुकै छलछाम र षड्यन्त्र गरेपनि आर्थिक समृद्धिको यात्रालाई कमजोर बनाउन नसक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्