Main News

प्रधानन्यायाधीशले आउँदिन भनेपछि परिषद बैठक स्थगित, प्रधानमन्त्रीलाई झड्का (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २० गते १७:१०
प्रधानन्यायाधीशले आउँदिन भनेपछि परिषद बैठक स्थगित, प्रधानमन्त्रीलाई झड्का (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ काठमाडौं । प्रधानन्यायाधीश सहभागी नहुने भएपछि आज बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि भएका नियुक्ति सिफारिसबारे छलफल गर्न आज बैठक बोलाउनुभएको थियो । शुरुमा बिहान ११ बजे बोलाइएको बैठक सारेर साँझ ५ बजे बस्ने भनिएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

परिषदले गरेका निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको तथा संसद विघटनविरुद्धको मुद्दामा समेत प्रतिवादी रहेका प्रधानमन्त्रीले बोलाएको बैठकमा जान उपयुक्त नहुने भन्दै प्रधानन्याधीशले असहमति जनाएको स्रोतको भनाइ छ ।

परिषद्को बैठक बस्न नसकेपछि ११ वटा संवैधानिक आयोगमा गर्न खोजिएको ३८ पदाधिकारीको नियुक्ति धरापमा परेको छ । यसअघि बसेको परिषद बैठकले अख्तियार, निर्वाचन आयोग, लोकसेवा आयोग, मानवअधिकार आयोग लगायतका निकायमा पदाधिकारी नियुक्ति गरेको थियो ।

संसद विघटन गरिएकै दिन गत पुस ५ गते संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । सो सिफारिस संसदीय सुनुवाइका लागि संसद सचिवालयमा सोही दिन दर्ता भएको थियो । तर, सभामुख अग्नि सापकोटाले सिफारिसको सक्कल फाइल परिषदमै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आजको बैठकमा सुनुवाइको म्याद ४५ दिन गुज्रेकाले ३८ जनालाई नियुक्त गर्नु भनी राष्ट्रपतिसमक्ष सिफारिस पठाउने तयारी गर्नुभएको थियो । तर संवैधानिक परिषद्को बैठक बस्न नसकेपछि प्रधानमन्त्रीलाई झड्का लागेको छ ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर बहुमतबाट पनि निर्णय गर्न सकिने अध्यादेश ल्याइसकेको छ । तर, परिषदमा हाल कायम रहेका अध्यक्ष ओलीसहितका पाँच जना पदाधिकारीमध्ये प्रधानन्यायाधीश जबरा, सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुँदा परिषदको बैठकका लागि कोरम पुग्दैन । सापकोटा र देउवा यसअघिको बैठकमा पनि अनुपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *