राजनीति

नख्खु कारागारमा मन्त्री थापा र विप्लव नेता वलीबीच के कुरा भयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २० गते १४:५६
नख्खु कारागारमा मन्त्री थापा र विप्लव नेता वलीबीच के कुरा भयो ? (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ता चलिरहेका बेला सरकारका एक जना मन्त्रीले जेलमै पुगेर विप्लव समूहका नेतालाई भेटेका छन् ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले नख्खु कारागार पुगेर विप्लव समूहका नेता हेमन्त प्रकाश वलीसँग संवाद गर्नुभएको हो । कारागारको खानेपानीसम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका मन्त्री थापाले वलीसँग लामै संवाद गर्नुभएको छ । मन्त्री थापाले वलीसँग संवाद भएको स्वीकार गर्नुभयो ।

मन्त्री थापाले वार्ता गर्ने हो भने प्रक्रिया थाल्नुपर्यो भनेपछि जवाफमा वलीले आफ्नो पार्टी वार्ता विरोधी नभएको प्रतिक्रिया दिनुभएको छ । आफूहरु वार्ताका लागि तयार रहेको र सरकारले वातावरण बनाउनुपर्ने वलीले बताएको मन्त्री थापाले जानकारी दिनुभयो ।

वलीले आफ्नो विप्लवसँग सम्पर्क नभए पनि उहाँसमेत वार्ताकै पक्षमा रहेको बताउनुभएको छ । मन्त्री थापाले यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने पनि बताउनुभएको छ ।

काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली भूमिगत विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च हुनुहुन्थ्यो । केही दिनअघि मात्रै सरकारले यो समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई पक्रेको थियो ।

संसद विघटनको निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहनुएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिबन्धित विप्लव समूहसँग पनि वार्ताको प्रयास गरिरहनुभएको छ । त्यही प्रयास स्वरुप मन्त्री थापाले हेमन्त प्रकाश वलीसँग भेटेको बताइएको छ । विप्वल नेतृत्वको नेकपाकामाथि सरकारले २०७५ साल फागुन २९ गते प्रतिबन्ध लगाएको थियो ।

वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा, हिरासतमा रहेका नेता, कार्यकर्ताको रिहाई र वार्ताको औपचारिक पत्र पठाउनुपर्ने अडान राखेको छ । सरकारभने हिंसात्मक गतिविधि त्यागेको घोषणापछि मात्रै वार्ताको प्रक्रिया सुरु हुने अडानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्