Main News

सिफारिस फिर्ता गर्ने सभामुखको कदमप्रति राष्ट्रिसभा अध्यक्षले जनाए आपत्ति

हिमालय टिभी
२०७७ माघ १९ गते १६:१०
सिफारिस फिर्ता गर्ने सभामुखको कदमप्रति राष्ट्रिसभा अध्यक्षले जनाए आपत्ति

१९ माघ २०७७ काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ ।

आज पत्रकार सम्मेलन गरेर अध्यक्ष तिमिल्सिनाले सभामुखको अधिकार क्षेत्र र पत्रमा प्रयोग भएको व्यहोराप्रति आपत्ति जनाउनुभएको हो । संघीय संसदअन्तर्गत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उहाँको तर्क थियो । उहाँले सभामुखको एकल निर्णयले संघीय संसदको अर्को सदन राष्ट्रियसभाको गरिमामा प्रहार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “संघीय संसद तथा सोअन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालन समेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहित भएको भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार भएको छ । ”

उहाँले नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०७५ ले संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नगरेको जिकिर गर्नुभयो । उहाँले सुनुवाइका लागि परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाइबाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानूनी व्यवस्था नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “मसमेत सहभागी भै निर्णय भएको संवैधानिक परिषद्का सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको हो । प्रतिनिधिसभा विघटन पूर्व संघीय संसदका महासचिव एवं सुनुवाइ समितिका सचिवलाई सिफारिसपत्रहरु उपलब्ध भएको र प्रक्रियामा रहेको अवस्थमा हठात् सिफारिसपत्रहरु नेपालको संविधान र संघीय संसदकै संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ विपरीत सभामुखको एकल निर्णयले फिर्ता पठाएकोमा गम्भीर आपत्ति प्रकट गर्दछु ।”

उहाँले दुई सदनात्मक व्यवस्थामा दुवै सदन बराबरी रहेको र राष्ट्रियसभा नै छैन जस्तो आइतबार सिफारिस फिर्ता पठाउने काम भएको र त्यसमा राष्ट्रियसभाको संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “अधिकार प्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति हो । संसदीय सुनुवाइसम्बन्धी पत्र फिर्ता सम्बन्धी गलत प्रक्रियामा संघीय संसदको माथिल्लो सदन (राष्ट्रियसभा) संलग्न नरहेको जानकारी गराउँछु । संघीय संसद संयुक्तसभा भएकाले दुवै सदन बराबर हो । म र सभामुख बराबर हो । राष्ट्रिय सभालाई नै छैन जस्तो गरेर पत्राचार आएकाले मैले स्पष्ट पारेको हुँ ।”

आइतबार संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ती जारी गरी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आफू निहित अधिकार प्रयोग गरी परिषद्ले गरेको पदाधिकारी नियुक्तिसम्बन्धी सक्कलै कागजात परिषद् सचिवालयमा नै फिर्ता पठाएको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *