Main News

अरूण तेस्रोको काम ४० प्रतिशत सकियो, आज पानी सुरुङमा प्रवेश गराइँदै

हिमालय टिभी
२०७७ माघ १९ गते ६:१९
अरूण तेस्रोको काम ४० प्रतिशत सकियो, आज पानी सुरुङमा प्रवेश गराइँदै

१९ माघ २०७७ सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत पूरा भएको छ ।

परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ मार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले आज सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो ।

परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । अरुण नदीको पानी थुनेर आज सुरुङतर्फ फर्काइने छ ।

बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युतगृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ ।

बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण कम्पनीले तथा विद्युत्गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी छ ।

प्रियोजना विकास सम्झौता ९पिडिए० अनुसार सन् २०२२ सेप्टेम्बरभित्रै काम सम्पन्न हुनेछ । परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ । यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।

रु एक खर्ब ४४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क पाइने र विभिन्न शीर्षकमा रु तीन खर्ब ४८ अर्ब आर्थिक लाभ लिनेछ ।

परियोजनाबाट प्रभावित स्थानीयवासीले रु एक अर्ब ६० करोडको शेयर पाउनाका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् । परियोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी रु तीन खर्ब ४८ अर्ब प्राप्त हुने अनुमान छ ।

निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पिडिएमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *