आज देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै
१६ माघ २०७७ काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने सहिदप्रति सम्मान गर्दै आज देशभर सहिद दिवस मनाइँदैछ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको बलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।
वीर सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।
वि।सं। १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सहिद दिवसको अवसरमा आज सहिद पार्क लैनचौरमा विशेष समारोह आयोजना गरिंदैछ ।
यो वर्ष नेकपा प्रचण्ड–नेपाल समूहले भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा आन्दोलनकै रुपमा सहिद दिवस मनाउने घोषणा गरेको छ ।
प्रतिक्रिया