Main News

नेपालमा भ्रष्टाचार झनै बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १५ गते १८:३८
नेपालमा भ्रष्टाचार झनै बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचार सूचकांक अनुसार पछिल्लो एक वर्षमा देशमा सुशासनको अवस्था खस्किएको छ । भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षभन्दा ४ स्थान तल झरेको छ । गत वर्ष ३४ अंक पाएर १ सय १३ औँ स्थानमा रहेको नेपाल १ सय १७ औँ उक्लिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेश्नलले विश्वका १ सय ८० देशको अध्ययन गरी तयार पारेको भ्रष्टाचारसम्बन्धी अध्ययनले नेपालमा पोहोरको तुलनामा भ्रष्टाचार बढेको देखाएको छ । एक सय अङ्कले अति स्वच्छ र शून्य अङ्कले अति भ्रष्टाचार हुने देश जनाउने ट्रान्सपरेन्सीको सूचीमा नेपाल ३३ अंकसहित १ सय १३ औँ स्थानमा छ ।

गत वर्ष ३४ अंक पाएर नेपाल १ सय १७ औँ स्थानमा थियो । विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा यो प्रतिवेदन तयार पारिएको हो ।

अरुले पोहोरकै जति अंक दिए पनि वर्ल्ड जस्टिस प्रोजेक्टले पोहोर भन्दा ३ अंक कम दिएकाले यो वर्ष नेपालको कुल स्कोरमा १ अंक घटेको हो । वर्ल्ड जस्टिस प्रोजेक्टले पोहोरको भन्दा कम अंक दिनुले राज्यका प्रमुख अंगमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग बढेको देखिएको छ ।

प्रतिवेदनमा भ्रष्टाचारका कारण कोभिड–नाइन्टिन महामारी रोकथामका प्रयास कमजोर भएको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको उल्लेख छ । प्रतिवेदनले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग हुनु, सार्वजनिक पदाधिकारीमाथि कारवाही कम हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी आउनु लगायतका पोहोर परारका समस्या कायमै रहेको देखाएको छ ।

यस्तै आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुसखोरीको स्थितिमा सुधार हुन सकेको छैन । त्यसैले भ्रष्टाचार हुने देशको सूचिमा नेपाल दक्षिण एशियाली राष्ट्रमा पाँचौंमा परेको छ ।

दक्षिण एशियाली राष्ट्रमा नेपालअघि भुटान, माल्दिभ्स, भारत र श्रीलङ्का छन् । नेपालभन्दा बढी भ्रष्टाचार हुने देशमा पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान छन् । यस्तै चीन ४२ अङ्कका साथ ७८ औं स्थानमा छ । नेपालले भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी निकायलाई सशक्त पार्नुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको सुझाव छ ।

भ्रष्टाचार नियन्त्रणका लागि ट्रान्सपरेन्सीले चुनावमा देखिने विकृतिको अन्त्यमा पनि जोड दिएको छ । अझै वैशाखमा चुनाव घोषणा भइसकेको स्थितिमा त्यो चुनावमा विकृति रोक्न सकिएन भने आउँदो वर्ष भ्रष्टाचारमा नेपाल अझै अघि देखिने खतरा छ ।

त्यसैले शक्ति पृथकीकरणको प्रवर्द्धन र राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण गर्न सरकारलाई ट्रान्सपरेन्सीले सुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *