Main News

कुन प्रदेशमा कसरी सुरु भयो खोप अभियान ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १५ गते ६:२७
कुन प्रदेशमा कसरी सुरु भयो खोप अभियान ? (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ काठमाडौं । सातवटै प्रदेशमा पनि बुधबार खोप अभियान शुरु भएको छ । प्रदेश राजधानीमा कार्यक्रम गरी अभियान सुरुवात गरिएको हो । ६ वटा प्रदेशमा चिकित्सकलाई पहिलो खोप लगाइएको छ । प्रदेश २ मा भने मापदण्डमै नपरेका मन्त्रीले पहिलो खोप लगाएका छन् ।

विराटनगरको कोसी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास र डाक्टर दीपक सिग्देलले खोप लगाएर प्रदेश एकमा अभियान शुरु गरिएको छ । प्रदेश १ का १४ जिल्लामा १९ खोप केन्द्र निर्धारण गरिएको छ। ति केन्द्रबाट पहिलो चरणमा कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई खोप लगाउने तयारी छ ।

प्रदेश–१ मा ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउने तयारी छ । खोप लगाउन मोरङमा पाँच, सुनसरीमा चार, इलाम र झापा तीन(तीन र बाँकी १० जिल्लामा एक(एक केन्द्र तोकिएको छ। प्रदेश २ का सिरहा र सप्तरीका ७ हजार ६ सय ८४ जनालाई पनि विराटनगरबाटै खोप पठाइएको छ ।

प्रदेश २ मा जनकपुरधाम, वीरगंज र राजविराजबाट खोप लगाउन शुरु गरिएको छ । वीरगंजमा मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव तथा सप्तरीको राजविराजमा समाजिक विकास मन्त्री नवल किशोर साहले खोप अभियान शुरु गर्नुभयो ।

सरकारले बनाएको मापदण्डमा नपरे पनि जनकपुरधाममा मन्त्री यादव आफैले खोप लगाउनुभयो । नागरिकमा त्रास देखिएकाले त्यसलाइ कम गर्न आफुले खोप लगाएको उहाँको तर्क छ ।

वीरगञ्जको नारायणी अस्पतालमा कोरोनाविरुद्धको खोप अभियान शुरु गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना विरुद्ध लड्न थप सहास मिलेको बताउनुभयो ।

प्रदेश २ का ९ वटा अस्पतालमा खोप केन्द्र बनाइएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अब बाँकी खोपका लागि प्रदेश आफैले पनि पहल गर्ने बताउनुभयो । ।

सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा १६ हजार भन्दा बढीलाई खोप लगाउने तयारी छ । कैलालीमा दुई र अन्य जिल्लामा एक(एक केन्द्र तोकिएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीले खोप लगाएका छन् । कर्णालीका दश जिल्लामा पहिलो चरणमा एघार हजार पाँच सय ८० जनालाई खोप लगाउने तयारी छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियान शुरु गर्नुभयो ।

लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप पुगेको छ । बागमति प्रदेशको राजधानी हेटौडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले खोप ल्याएर जनताको शंका निवारण गरेको बताउनुभएको छ ।

काठमाडौं उपत्यकाको ललितपुर र भक्तपुरसहित सबै जिल्लामा पनि खोप अभियान अघि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *