कोरियाली कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप नेपालमा क्लिनिकल ट्रायलको तयारी
२६ पुस २०७७ काठमाडौं । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको छ।
इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गर्ने तयारी गरिएको हो।
खोप ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले समेत स्वीकृति दिन उपयुक्त भएको ठहर गरेसकेको छ। खोप ट्रायलका विषयमा अब मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही सातामै कोरोना भाइरसविरुद्ध आइभिआईको खोपको क्लिनिकल ट्रायल शुरु हुनेछ।
अनुसन्धान परिषद्को इथिकल बोर्डले खोपको क्लिनिकल ट्रायल शुरु गर्ने अनुमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी गरेको परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताउनुभयो ।
परीक्षणका लागि १८ सय जनामा खोप दिइने तयारी भएको छ। खोप ट्रायलमा प्रमुख अनुसन्धानकर्ता डा लक्ष्मण श्रेष्ठसहित डा दिव्या सिंह शाहलगायत नेपाली चिकित्सक छन्।
प्रमुख अनुसन्धानकर्ता डा श्रेष्ठले मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि ट्रायल शुरु हुने बताउनुभयो। त्यसका लागि अनुसन्धानकर्ताहरूले त्रिवि शिक्षण अस्पतालमा केही दिनअघि अवलोकन पनि गरेका थिए।
प्रतिक्रिया