Main News

काठमाडौंमा भारतीय नेताको सक्रियता, चौथाइवालेद्वारा अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट

हिमालय टिभी
२०७७ मंसिर २६ गते १५:०५
काठमाडौंमा भारतीय नेताको सक्रियता, चौथाइवालेद्वारा अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट

२६ मंसिर, २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग ईञ्चार्ज डाक्टर विजय चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ ।

हिजो काठमाडौं आएका चौथाईवालेले आज अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छुट्टा–छुट्टै भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवालेले जानकारी दिनुभएको छ । सत्तारुढ दल नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निम्तोमा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गर्नुभएको थियो ।

भारतबाट एकपछि अर्को भ्रमण हुने क्रममा भारतको सत्तारुढ दल भाजपाका नेता पनि सत्तारुढ नेकपाका नेताको निम्तोमा नेपाल आउनुभएको हो ।

गत वर्षदेखि नेपाल र भारतबीच सीमा विषयमा विवाद हुँदा दुई देशका नेतारुबीच पनि संवाद तथा भेटवार्ता रोकिएको थियो।तर गत अगस्त १५ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि भने भारत र नेपालबीच बिभिन्न तहमा आपसी भ्रमण र वार्ता फेरि सुरु भएका छन्।

त्यसयता सुरक्षा, कूटनीतिक तथा राजनीतिकस्तरमा पनि वार्ता भैरहेका छन् । दुई प्रधानमन्त्रीबीच भएको फोनवार्तापछि भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गर्नुभएको थियो ।

त्यसपछि भारतीय विदेश सचिव हर्षबर्द्धन शृंगलाले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो । केही सातापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि भारत भ्रमण जाने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *