राजनीति

नेकपाको लडाइँ अब स्थायी कमिटी बैठकमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २० गते १९:३८
नेकपाको लडाइँ अब स्थायी कमिटी बैठकमा (भिडियोसहित)

२० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद सचिवालयबाट अब स्थायी कमिटीमा सरेको छ । आज बसेको सचिवालय बैठकले दुई अध्यक्षका प्रस्ताव र चिचीपत्र स्थायी कमिटीमै लगेर निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

सचिवालय बैठकअघि भएका द्विपक्षीय छलफलमा कुनै सहमति नभएपछि विवाद स्थायी कमिटीमा पुगेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिक छलफलबाटै सहमति खोज्न चाहिरहेको थियो । तर सचिवालयले विवादको छिनोफानो दुई अध्यक्षको छलफलबाट नभइ कमिटीबाटै गर्नुपर्ने भन्दै सोही अनुसार निर्णय गरेको छ ।

सत्तारुढ नेकपाको विवाद अब नयाँ चरणमा प्रवेश गरेको छ । लामो समयको रस्साकस्सीपछि सचिवालय बैठकले विवादको विवादको छिनोफानो अब स्थायी कमिटी बैठकबाटै गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा शनिबार साढे तीन घण्टासम्म भएको गरमागरम छलफलपछि अन्त्यमा सबै सचिवालय सदस्य स्थायी कमिटी बैठकमा जान सहमत भएका छन् । अब स्थायी कमिटीले नै नेकपा विभाजन हुने वा सग्लै रहने भन्ने टुङ्गो लगाउनेछ । आइतबार दिउँसो १ बजे बस्ने गरी धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक बोलाइएको छ ।

दुई अध्यक्षले एक अर्कालाई कटु आरोप लगाउँदै प्रस्ताव ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

ओली पक्षले बैठक स्थगन गरेर अनौपचारिक छलफलबाट समाधान निकाल्नुपर्नेमा जोड दिइरहेको थियो । प्रचण्ड नेपाल पक्षले भने कम्तिमा स्थायी कमिटी बैठकसम्म पुग्नै पर्ने अडान राखिराख्यो । यसअर्थमा शनिवारको सचिवालय बैठकको निर्णय प्रचण्ड नेपाल समुहको जीत हो । यद्यपी यो बीचमा सहमतिका लागि अनौपचारिक छलफल पनि गर्न नेताहरु सहमत भएका छन् ।

अघिल्लो बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि तीन दिन गृहकार्य गर्ने गरी शनिबारसम्म सचिवालय बैठक सारिएको थियो । शनिबार बैठक शुरु हुनुअघि अध्यक्षद्धय ओली र प्रचण्डबीच छुट्टै छलफल पनि भएको थियो ।

त्यहाँ ओलीले दुबै प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव बनाउन आग्रह गर्नुभयो । तर प्रचण्डले अब विवाद धेरै अघि बढिसकेको भन्दै कमिटी बाहिरबाट निष्कर्ष निकाल्न नमिल्ने जवाफ दिनुभयो ।

बैठकमा पनि ओली र उहाँ पक्षधर सदस्यले सकेसम्म प्रस्ताव स्थायी कमिटीमा लैजान नहुनेमा जोड दिएका थिए ।

तर प्रचण्डसहितका बहुमत नेताले त्यसलाई अस्विकार गरेपछि ओली पक्ष गल्यो र अन्त्यमा सोही अनुसार निर्णय भयो । अब ओली पक्षले सकेसम्म बहुमत र अल्पमत नगरी साझा निष्कर्षका लागि प्रयास गर्नेछ । किनकी स्थायी कमिटीमा पनि प्रचण्ड–नेपाल समुहको बहुमत छ ।

स्थायी कमिटीबाट पनि निष्कर्ष निस्कन नसके सबै प्रस्ताव केन्द्रीय कमिटीमा जानेछन् । केन्द्रीय कमिटीको बैठक २५ गते बोलाइएको छ । यसले नेकपाको विवाद अझै केहिदिन लम्बिने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्